वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), १७ चैत्र (बीबीसी) । अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतवार सो कुरा बताउनुभएको हो ।
अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितहरू छन्।
फाउचीको भनाई
सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने’ बताउनुभएको थियो ।
तर उहाँले तत्कालै त्यस्तो सङ्ख्या सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेको बताउनुभयो।
डाक्टर फाउचीले भन्नुभयो , ‘न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, न्यूअर्लेन्समा गम्भीर समस्या छ र अन्य ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन्।’
उहाँले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताउनुभएको थियो।
अमेरिकाको अवस्था
पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गतसाता अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो।
तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ।
अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

मिसिगन राज्यका गभर्नर ग्रेचन वित्मरले यसअघि सीएनएनसँगैको कुराकानीमा ुनर्सहरूले आफ्नो कामको पूरै समय एउटै मास्क लगाएर बिताउनु पर्ने अवस्था रहेको बताउनुभएको थियो।उहाँले मास्कहरु समेत बिरामीले लगाउने खालको भएको बताउनु भयो ।
यसैबिच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ।
त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन (गाउन) र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेक्टिकट राज्यमा वितरण गरिने जनाइएको छ।
भेन्टिलेटर र स्वास्थ्य सामग्री अपर्याप्त
अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भइरहेको छ।
राष्ट्रपति ट्रम्पले भने मिसिगन राज्यकै डेट्रोइट सहरमा एउटा कार निर्माता कम्पनीलाई उक्त कामका लागि आग्रह गर्नुभएको थियो।
तर पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कतिपय अस्पतालहरूले पसलेहरूले जसरी बिरामीहरूलाई आवश्यक पर्ने भेन्टिलेटर र अन्य उपकरणहरू लुकाएको आरोप समेत लगाउनुभ भयो।
स्वास्थ्य सामग्रीका आयात समेत अब आउँदो तीस दिनसम्म हुने बताइएको छ।
आगामी दिनमा चीनबाहेक मलेसिया र भियतनामबाट समेत अमेरिकी स्वास्थ्यकर्मीलाई अत्यावश्यक देखिएका सुरक्षा सामग्री आपूर्ति गरिनेछन्।
न्यूयोर्क सहरका मेयरले स्थानीय अस्पतालहरूमा मौजुदा रहेका स्वास्थ्य सामग्रीहरू एक साताभित्रै सकिने बताउनुभएको छ।
केन्द्रमा न्यूयोर्क
अमेरिकाका आधाजसो सङ्क्रमित न्यूयोर्क राज्यमा छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतवार उक्त राज्यलाई क्वारेन्टाइनमा राख्नेबारे विचार गरेको बताए पनि अहिले त्यो आवश्यक नपर्ने भन्दै पछि हट्नुभएको थियो।

न्यूयोर्कमा गभर्नर एन्ड्रिउ कोमोले क्वारेन्टाइनलाइ निरर्थक बताएपछि आफू पछाडि हटेको ट्रम्पको भनाइ थियो।
त्यसको विकल्पमा ुकडा यात्रा प्रतिबन्धहरूु लगाइएको र त्यो एप्रिल अन्त्यसम्म जारी रहने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ।
ट्रम्पले आउँदा दुई सातामा मृत्युदरको उच्च विन्दू पुग्ने भएकाले सरकारी मार्गदर्शनहरू विस्तारित गरिएको बताउनु भएको छ।
जसमा उच्च प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यका मानिसहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न भनिएको छ।
विश्वको पछिल्लो अवस्था
सोमवार संसारभर ६ लाख ८५ हजार भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पाइएकामा ३० हजार भन्दा बढीले ज्यान गुमाएका छन्।
इङ्ल्याण्डकी एक वरिष्ठ स्वास्थ्य अधिकारीले ब्रिटेनको अवस्था ुसामान्य हुनु ६ महिनासम्म लाग्नसक्ने बताउनुभएको छ ।
तीन साताको लकडाउन सामना गरिरहेको भारतमा त्यहाँका राज्य सरकारहरूलाई आफ्ना राज्यका सीमाहरू बन्द गर्न भनिएको छ।
स्पेन, फ्रान्स र इटलीमा सङ्क्रमितहरूको मृत्यु हुने क्रम बढ्दो छ। तर इटलीमा मृत्युको बढ्दो सङ्ख्या अघिल्ला दुई दिनभन्दा कम छ।


















