खलंगा(दार्चुला), १७ चैत्र । दार्चुलाको सीमा नजिक महाकाली पारी भारतीय भूमि धार्चुलामा अलपत्र नेपालीलाई स्वदेश प्रवेश गर्न दिने विषयमा दार्चुला प्रशासनमा छलफल चलिरहेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले अलपत्र नेपालीलाई फर्काउने र फर्काएपछि क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भएको बताउनुभएको छ।
सीमा बन्द भएपछि अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले आइतबार नै नेपाली भएको प्रमाण भए प्रवेश गर्न दिने निर्णय गरेको थियो । तर ज्याला मजदूरी र अस्थायी नोकरीका लागि गएका सबैसंग प्रमाणपत्र नभएको र सीमामा आइपुगेका प्रायः सबै ५ सय नेपालीले नै आफ्नो देशमा आएर घरमा बस्न पाउने माग राखेपछि स्थिति असामान्य बन्दै गएको छ ।
भारतीय सीमावर्ती धार्चुलामा नेपालीले देश फर्किन पाउनुपर्ने भन्दै नाराजुलुस समेत गरिरहेका छन्।
भारतको पिथौरागढ, डिडिहाट, मुन्स्यारी लगायत क्षेत्रमा काम गरी फर्किएका साढे चार सय भन्दा बढी नेपाली तीन दिन देखी अलपत्र परेको भारतीय सुरक्षा बल एसएसबीले बताएको छ। भारतमा एक्कासी लकडाउन सुरुभएपछि भारतको विभिन्न राज्यमा कामको खोजीमा पुगेका सुदूर पश्चिमका पहाडी जिल्लाका नेपालीहरु दार्चुलाबाट नेपाल प्रवेश गर्ने इरादाले सो स्थानमा पुगेका हुन ।उनीहरु आफ्नै देशको सिमानामा तीन दिनदेखि रोकिएका छन्।
नेपाल सीमामा आइपुगेका नेपालीहरुले महाकाली पुलपारी भारतीय भूभागमा ‘आफ्ना जनता फिर्ता ले, नेपाल नाका खुल्ला गर’ जस्ता नारा लगाइरहेका छन् ।
बैतडी पुर्चौडी नगरपालिका ३ का पदम सिंह धामीका अनुसार धार्चुलामा दार्चुला, बैतडी, बझाङ र जाजरकोट जिल्लाका करिब ५ सय नेपाली रहेका छन्। तीन दिनदेखी बाँस र गाँस नपाएका उनीहरुले रात गौशालामा बिताउने गरेका छन् ।
#याे दृश्य दार्चुला सदरमुकाम पारी धार्चुला भारतको हाे !
भारतको विभिन्न क्षेत्रबाट अाएर जम्मा भएका नेपालीहरू नेपाल प्रवेशकाे माग राखेर नाराबाजी गरिराखेका छन् ! pic.twitter.com/SFtJhMaWpN— Narbahadur Bista (@BistaNarbahadur) March 29, 2020
आइतबार उनीहरुलाई भारतीय एसएसबीले खाना खुवाएको थियो।
यसअघि शुक्रवार राति दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो । नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु ३ दिनको पैदल यात्रापछि पिथौरागढबाट धार्चुला आइपुगेका हुन्।
भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन्। शनिवार विहानै भारतको धार्चुलामा आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन्।


















