काठमाडौं, १७ चैत्र । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
नेप्सेका सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेप्सेले आगामी २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
यस अघि नै नेप्सेले सरकारले गरेको लकडाउनको अवधिभरका लागि सेयर कारोबार बन्द गर्ने छलफल चलाएको थियो ।
आइतबार धितोपत्र बोर्डले पनि अहिलेको अवस्थामा बजार चलाउन सक्ने अवस्था नभएकोले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार निर्णय लिन नेप्सेलाई सुुझाव दिएको थियो ।
उक्त पत्रको आधारमा नेप्सेले निर्णय गरेको हो ।
यस अगाडि चैत्र ९ गते बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले कारोना भाइरसको विश्वव्यापी महामारीलाई दृष्टिगत गर्दै चैत्र १० गतेदेखि ५ कार्यदिन शेयर बजारको कारोबार बन्द गर्न दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० को उपदफा १ को खण्ड घ मा लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसंगको परामर्शको आधारमा धितोपत्रको कारोबार रोक्न सक्ने अधिकार दिएको छ ।


















