टोकियो(जापान), १७ चैत्र(बीबीसी) । कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ।
त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।
राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।
जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ।
सावधानीका उपाय
छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन।
घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ।
एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ। उनी ७० वर्षका थिए।
यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन्।
BREAKING NEWS: Japanese comedian Ken Shimura has died due to pneumonia caused by #coronavirus infection.#KenShimura #Covid_19 pic.twitter.com/F3vcSpfeIY
— The Japan News (@The_Japan_News) March 30, 2020
यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको छ। अब युरोप र अमेरिकाबाट आउनेलाई पनि निषेध गर्ने सम्भावना छ।
अमेरिकामा थप सतर्कता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस फैलिने त्रासबीच देशमा लगाइएका आपत्कालीन प्रतिबन्धहरूको एप्रिल महिनाको अन्त्यसम्म जारी रहने बताएका छन्।
त्यस्तो घोषणा गर्दै ट्रम्पले दुई सातामै आफ्नो अडान फेरेका हुन्। त्यसअघि उनले देशका व्यापार व्यवसाय बन्द नभएर ती दुई सातापछि नै खुल्नुपर्ने अडान राखेका थिए।
ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकामा कोभिड-१९ का बिरामीको सङ्ख्या एप्रिलको मध्यतिर चुलिने आकलन गरेको सुनाए।
त्यसैले, उनले, वास्तविक “विजय हासिल हुनुअघि” नै “विजय हासिल भएको घोषणा हुनु” जस्तो खराब केही नहुने बताए।
प्रक्षेपण
ट्रम्पले अमेरिकी अर्थतन्त्र आगामी जुन महिनादेखि फेरि सुधारको बाटोमा लाग्ने बताए।
त्यसअघि अमेरिकी राष्ट्रपतिका एक चिकित्सा सल्लाहकारले कोरोनाभाइरस सङ्क्रमणको कारण झन्डै दुई लाख अमेरिकी नागरिकहरूको ज्यान जान सक्ने चेतावनी दिएका थिए।
उनले १० लाखभन्दा बढी मानिस सङ्क्रमित हुने प्रक्षेपण गरेका थिए।
छिमेकी चीनमा सङ्क्रमण नियन्त्रणमा आइसकेको बताइएको छ। त्यहाँ शनिवारदेखि सबै विदेशीलाई निषेध गर्ने भनिएको छ।
दक्षिण कोरियाको कोरोनाभाइरस परीक्षणको पनि प्रशंसा भइरहेको छ।


















