मुम्बई(महाराष्ट्र,भारत), १८ चैत्र(एजेन्सी) । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र कोरोना प्रभावितहरुको लागि भारतीय कलाकारहरुले उदारतापूर्वक सहयोग गर्न थालेका छन् ।
भारतीय गायिका लता मंगेशकरले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले चालेका कदमलाइ सघाउन सरकारद्धारा स्थापित कोषमा २५ लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले एक ट्वीट गर्दै सहयोगको घोषणा गर्नुभएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको नियन्त्रण,रोकथाम र बिरामीको उपचारको लागि खडा गरेको कोषमा अभिनेता अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ।
चलचित्र बाहुबलीका नायक प्रभासले प्रधानमन्त्री कोषमा ३ करोड तथा तेलंगाना र आन्ध्र राज्यको मुख्यमन्त्रीको कोषमा ५० । ५० लाखको सहयोग गर्नुभएको छ ।
सभ्यासचीले प्रधानमन्त्री कोषमा १ करोड र महाराष्ट्रको मुख्यमन्त्री कोषमा ५० लाख दिने घोषणा गर्नुभएको छ ।
गब्बर सिंहले चिनिने कलाकार तथा राजनीतिज्ञ पवन कल्याणले प्रधानमन्त्री कोषमा १ करोड र आन्ध्र तथा तेलंगना राज्यका मुख्यमन्त्रीको कोषमा ५० । ५० लाख रुपैया सहयोग गर्नुहुने भएको छ ।
चर्चित अभिनेत्री हेमा मालिनीले १ करोड सघाउने घोषणा गर्नुभएको छ ।
कलाकार विक्की कौशल र कार्तिक आर्यनलेले १ ।१ करोड, निर्माता, उद्यमी तथा कलाकार राम चरणले ७० लाख,नाना पाटेकर, रजनी कान्त, सन्नी देवल र कपिल शर्माले ५०। ५० लाख, बरुण धवन र गायक बादशाहलृ २५।२५ लाख,सिल्पा सेट्ठीले २१ लाख दिलजित दोसाजले २० लाख सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।
यसैबीच भारतका चर्चित कलाकार सलमान खान चलचित्र उद्योगमा कार्यरत २५ हजार मजदूरलाई मद्दत गर्न अग्रसर हुनुभएको छ । खानले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ बाट यी २५ हजार मजदूरलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।उहाँले पश्चिमभारत सिनेमा कर्मचारी संघ संग मजदूरहरुको डिटेल पनि माग्नुभएको छ । उहाँले सिने मजदुरको मेडिकल सुविधाका लागि हरेक महिना ५ लाख खर्च गर्दै आउनुभएको छ ।
भारतको बलिउडबाट हलिउड पुग्नुभएकी प्रियंका चोपडाले भारतको प्रधानमन्त्री केयर कोषसहित युनिसेफ, गुञ्ज, डाक्टर्स विदाउट बोर्डर, नो किड हंग्री,साग अफ्ट्रा लगायत १० संस्थालाई सघाउने घोषणा गर्नुभएको छ ।
चलचित्र नगरी मुम्बईका चर्चित कलाकार सारा अलि खाँन, आलिया भट्ट, कैट्रिना कैफ, सोनम कपुर, राजकुमार राव, कीर्ति सेनन, भूमि पेडनेकरले पनि सहयोग गर्ने घोषणा गर्नुभएको छ र तर रकम खुलाउनुभएको छैन ।
चर्चित नायक ऋतिक रोशनले भने बृहत्तर मुम्बई महानगरपालिका कर्मचारी र कोरोना भाइरसको उपचारमा सक्रिय जनशक्तिको लागि एन ९५ र एफएफपी ३ मास्क उत्पादन गरी वितरण गरिसक्नुभएको छ
।
भारतका दर्जनौ सेलिब्रेटीले कोरोना संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्न खुला हृदयले सहयोग गर्ने घोषणा गरेका छन् ।
भारतमा २१ दिने लामो लकडाउन जारी छ । कोरोना भाइरसका कारण भारतमा ३२ जनाले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी संक्रमित रहेको पुष्टि भएको छ ।