लण्डन(संयुक्त अधिराज्य), २५ चैत्र (बीबीसी) ।कोरोनाभाइरसबाट संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू खराब भएपछि उहाँलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उहाँको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट (सघन उपचार कक्ष)मा सारिएको र उहाँको उत्तम हेरबिचार भइरहेको बताउनुभएको छ।
५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ।
सघन उपचार
गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बस्नुभएका प्रधानमन्त्री जोन्सनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा हुनुहुथ्यो।सोमबार दिउँसो उहाँको स्वास्थ्य केही बिग्रीयो र उहाँको चिकित्सा टोलीको सल्लाहमा उहाँलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ।’
विज्ञप्तिमा भनिएको छ,’प्रधानमन्त्रीले उत्तम हेरचाह पाइरहनुभएको छ उहाँले एनएचएसका सबै कर्मचारीलाई तिनीहरूको कडा परिश्रम र समर्पण भावकालागि धन्यवाद दिनुभएको छ।’
आवश्यकता परेको खण्डमा उहाँलाई भेन्टिलेटरको निकटता हुनसकोस् भनेर उक्त निर्णय लिइएको बीबीसीका राजनीतिक सम्पादक लोरा कुन्सबर्गले बताउनुभएको छ।
डाउनिङ्ग स्ट्रिटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई जहाँ आवश्यक पर्छ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन अह्राउनुभएको छ।