काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री केपी ओलीले आज(मंगलबार) पुनः देशवासीका नाममा सम्बोधन गर्न अग्रसर हुनुभएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट देश र नागरिकलाई बचाउन सरकारले अहिलेसम्म गरेका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लाग्नुभएको हो।
आफूले सम्बोधनको तयारी गरेको जानकारी प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा गराउनुभएको थियो। उहाँले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।
यस अघि हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि वैशाख ३ गतेसम्म लम्ब्याएको छ।
सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेको थियो । पहिले चैत्र १८ सम्म निर्धारण गरिएको लकडाउन आन्तरिक एवम् बाह्य परिस्थिति हेरेर चैत्र २५ गतेसम्म लम्बाइएको थियो । कोरोना भाइरसको संक्रमण देशमा पनि देखिदै गएको र छिमेकी राष्ट्रभारत सहित विकसित मुलुकहरुका पनि बढीरहेको देखिएपछि सरकारले तेस्रो पटक समयसीमा विस्तार गरेको हो ।
नेपालमा हालसम्म यस संक्रमणबाट कसैले जीवन गुमाउन परेको छैन भने कोरोना संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये ८ जना आइसोलेसनमा उपचाररत छन्। एक जना निको भई घर फर्किएका छन्।
कैलालीमा विदेशबाट फर्किएका एक जनामा देखिएको संक्रमण उनका आफन्तमा सरेपछि स्वास्थ्य मन्त्रालयले नेपाल दोस्रो चरणमा प्रवेश गरेको बताएको छ।
सरकारले लकडाउन अवधि बढाए पनि उक्त अवधिभर अत्यावश्यक ढुवानीका साधन भने सञ्चालन हुन दिने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत पनि वैशाख ३ गते राति १२ बजेसम्म स्थगन गर्ने निर्णय भएको छ।
अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत बाहेक अन्य सेवा प्रदायक क्षेत्रमा कार्यरत नागरिकलाई सरकारले घरभित्रै बस्न आग्रह गरेको छ।
बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहेका र काम नदेखिएका मन्त्रीहरूलाई पनि प्रदेश सरकार र अन्य दलसँग समन्वय, नीति योजना बनाउन परिचालन गर्ने निर्णय गरेको छ।
जस अनुसार प्रदेश १ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङ, प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, गण्डकी प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा खानेपानीमन्त्री बिना मगरलाई प्रदेश सरकारले गरिरहेका कामसँग समन्वय गर्न जिम्मेवारी दिइएको छ।
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, बालबालिकामा कोभिड–१९ ले पारेको असर र सुधारको कार्ययोजना बनाउने, सामाजिक संघसंस्था परिचालन गर्न भनिएको छ। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार)लाई युवा, खेलाडी र राहत वितरणमा स्वयंसेवक व्यवस्थापन र परिचालनका लागि योजना बनाउने र कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी दिएको छ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेलाई संसद्मा भएका विभिन्न दलसँग निरन्तर संवाद तथा सहकार्य गर्ने गरी जिम्मेवारी दिइएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ ।


















