लण्डन(संयुक्त अधिराज्य), ७ माघ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगरको अभिनय भएको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को ७५ प्रतिशत छायांकन सकिएको छ ।
चिलचित्र सुटिड.को लागि केही हप्ता अगाडि मात्र नायिका शाह लन्डन उडेकी थिइन् । उनको भिसाको कारण लामो समयदेखि फिल्मको छायांकन रोकिएको थियो ।
कोरियोग्राफर रेनाशा वान्तवा राईको निर्देशनमा बनेको पहिलो फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन स्थलबाटै फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर प्रस्तुत छन् । यो फिल्मको नेपाल छायांकन सम्पन्न भइसकेको छ भने बेलायतको छायांकनको पहिलो समयतालिका पूरा हुँदैछ । फिल्ममा बेलायतका थुप्रै रमणीय दृश्यहरु कैद गरिएको निर्माण टीमले बताएको छ ।
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा शारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ।
यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’बाट शारुकले अभिनयमा डेब्यु गरेका थिए । आई कोर फिल्मको ब्यानरमा बनेको ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
फिल्मको लेखकमा अभिमन्यु दीक्षित र रेनाशा रहेका छन् भने, आभाश कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।
बुझिए अनुसार, फिल्म यूनिट केही दिनमा नै नेपाल फर्किँदैछ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन बसन्त ऋतुको अवसर पारेर चैत वा बैशाखमा फेरि बेलायतमा हुने निर्देशक रेनाशाले बताएकी छन् ।