Prakash Adhikari January 21, 2018

कठमाडौं, ७ माघ । देशका सातैवटा प्रदेशका सभासद्हरुलाई प्रदेश प्रमुखहरुले संबन्धित प्रदेशको अस्थायी केन्द्रमा आज शपथ ग्रहण गराउदै छन् ।

निर्वाचन आयोगले राष्टिय सभाको निर्वाचनको लागि मतदाता नामावली प्रकाशनको समय तालिका आजलाई राखेको र शपथ नलिएका निर्वाचित सांसदहरुले वैधानिक अधिकार उपयोग गर्न नपाउने भएकोले राष्ट्र्यि सभामा मतदान गर्ने प्रयोजनको लागि हतारहतारमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

राष्टिय सभाको निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न आतुर निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले प्रदेशप्रमुखहरुको शपथ ग्रहण सकिनासाथ राष्टपति कार्यालयमै गएर प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित सदस्यहरुको सूची संबन्धित प्रदेश प्रमुखलाई बुझाएका थिए ।

संविधानमा प्रदेश सभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्नुपर्ने तथा प्रदेश सभामा कुनै दलको बहुमत भएकोमा सो दलको संंसदीय दलको नेता र बहुमत नभएको अवस्थामा वा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई तुरुन्तै मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । यसैले प्रदेशमा बढी सीट जितेको बामगठबन्धनमा पदको बाँडफाँट मिल्ने वित्तिकै प्रदेशले सरकार छिट्टै पाउन सक्ने संभावना देखिन्छ ।

प्रदेश १ को शपथ बीरेन्द्र सभागृहमा

१ नं प्रदेशका प्रदेशसभा सदस्यहरुको शपथ विराटनगरको वीरेन्द्र सभागृहमा हुने भएको छ । आइतबार विहान १० बजे प्रदेश प्रमुखबाट प्रदेशका ९३ जना सदस्यहरुलाई सोही सभागृहमा सपथ गराउने कार्यक्रम तय भएको छ ।

करिव ५ सय जनाको क्षमता रहेको सो सभागृह प्रदेश संसदको रुपमासमेत प्रयोग हुने प्रस्ताव गरिएको छ ।

प्रदेश सभाको पहिलो बैठक भने जिल्ला समन्वय समिति मोरङको सभाहलमा राख्ने तयारी भएको छ ।

२ नंको शपथ कार्यक्रम उद्योगवाणिज्य संघमा

प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा शपथ ग्रहण समारोह हुनेछ । शपथग्रहणको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार आइतबार १० बजे निर्धारित शपथ ग्रहण कार्यक्रमका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसकेका छन् ।प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन् ।

३ नं मा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई मात्र शपथ गराउने

३ नं प्रदेशमा प्रदेश प्रमुख कोइरालाले आइतबार विहान १० बजे प्रदेश सभाका जेष्ठ सदस्य डोरमणी पौडेललाई शपथ खुवाउने कार्यक्रम रहेको छ ।

३ नम्बर प्रदेशको प्रदेशसभा सचिवालय मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा राखिएको छ । प्रदेशसभा सदस्यहरूलाई आइतबार निर्देशनालयकै सभाहलमा शपथग्रहण गराउने कार्यक्रम छ ।

साढे १० बजे बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य पौडेलले अन्य १ सय ९ प्रदेश सभा सदस्यलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । तीन नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ ६६ जना र समानुपातिक तर्फबाट ४४ जना प्रदेशसभा सदस्य रहेका छन् ।

४ नं मा ९ः०० बजे शपथ

प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले आज प्रदेशसभाका ज्येष्ठ सदस्य प्रदेश नं ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् ।

प्रदेश प्रमुखको कार्यालय पार्दीमा ज्येष्ठ सदस्यले शपथ लिएसँगै अन्य सदस्यले ज्येष्ठ सदस्यबाट साविकको नगर प्रशिक्षण कार्यालयमा विहान १० बजे शपथ लिने कार्यक्रम तय गरिएको छ ।

४ नम्बर प्रदेशमा ३६ प्रत्यक्ष र २४ जना समानुपातिकबाट प्रदेशसभा सदस्य छन् ।
मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङ भने सर्वोच्च अदालतको फैसलापछि सांसद हुनबाट वञ्चित भएका छन् ।
यसैले ज्येष्ठ सांसदले अरू ५८ जनालाई शपथ खुवाउनेछन् ।

५ नंमा शपथ ११ :०० बजे

प्रदेश नम्बर ५ का सांसद्हरुलाई शपथका लागि सबै तयारी पूरा भएको छ।

आईतबार प्रदेश प्रमुखले पदभार सम्हालेपछि सांसद्हरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

प्रदेशका प्रमुख उमाकान्त झाले आईतबार बिहान १० बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन्। प्रदेश प्रमुखको कार्यालय रुपन्देही व्यापार संघको भवनमा स्थापना गरिएको छ।

त्यसपछि प्रमुख झाले आईतबार विहान ११ बजे संसद् भवनमा पुगेर प्रदेशसभा सदस्य मध्ये जेष्ठ सांसद् बलदेव शर्मा पोखरेललाई शपथ खुवाउने छन्। जेष्ठ सांसद् पोखरेलले प्रदेश प्रमुखको उपस्थितिमा अरु सांसद्हरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्।

संसद्ले सभामुख चयन नगर्दासम्म पोखरेलले नै सभामुखको भूमिका निर्वाह गर्ने छन्। संसद् भवन चिटिक्क प्रदेश सांसद्को सपथका लागि संसद् भवन चिटिक्क पारिएको छ।

सरकारले अस्थायी राजधानी तोकेपछि बुटवलस्थित सरकारी तथा संस्थागत कार्यालयहरुको अवलोकन गरेर खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहललाई संसद् भवन तोकिएको हो।

५ नं प्रदेशमा प्रत्यक्ष तर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जनाले आईतबार शपथ लिनेछन्।

प्रदेश ६ को सपथ जिसस हलमा

प्रदेश ६ का प्रदेशसभा सदस्यहरूको शपथ सुर्खेत जिल्ला समन्वय समितिको हलमा खुवाउने तयारी गरिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनेछन् ।

क्षेत्रीय प्रशासन कार्यालयले २ महिनाअघिदेखि नै प्रदेश प्रमुख र प्रदेश संसद् भवनको छनोट गरे पनि सरकारले प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनमा ढिलाइ गर्दा जिसस हलमा शपथ खुवाउन लागिएको हो ।

प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन तालिम केन्द्रमा व्यवस्थापन गरिँदैछ । प्रदेशसभाको शपथग्रहणअगावै प्रदेश प्रमुखको पदबहालीको कार्यक्रम तय भएको बताए । सलामी ग्रहणलगत्तै प्रदेश प्रमुखबाट पदबहाली गर्ने कार्यक्रम छ,। प्रदेश ६ मा प्रत्यक्ष निर्वाचित २४ र १६ समानुपातिक गरी ४० सदस्य छन् ।

प्रदेश ७ को शपथ पनि जिसस हलमा

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि शपथग्रहण समारोहको तयारी पूरा भएको छ । ‘प्रदेश प्रमुखको सचिवालयका लागि घरेलु तथा साना उद्योग कार्यालय र आवासका लागि क्षेत्रीय वन निर्देशनालयको आवास गृह तयार गरिएको छ ।

आइतबार बिहान १० बजे शपथग्रहण समारोह राखिएको छ । प्रदेश ७ मा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक गरी ५३ सांसद छन् ।

Share Now

Leave a comment.