काठमाडौं, १३ बैशाख । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ ।
देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो ।
समितिले कोरोना भाइरस नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने राय समितिले सरकारसमक्ष पेश गर्ने भएको छ ।
शुक्रबारको मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिनुभएको थियो।
समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ। समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ। यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउनेछ।
बैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ।
सचिव नारायण विडारीले लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएको बताउनुभएको छ।
प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समीक्षा भएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समीक्षा भएको सचिव बिडारीले बताउनुभएको छ।


















