काठमाडौं, १४ बैशाख । आज अक्षय तृतीया पर्व मनाइँदैछ।
अक्षय तृतीयालाई पूर्वीय दर्शन र हिन्दु सनातन धर्ममा महत्वपूर्ण दिन मानिन्छ ।
अक्षयको अर्थ हो कहिल्यै नास नहुने र सधै स्थायी रहने । यसैदिन भगवान परशुरामको जन्म भएको थियो । परशुरामलाई अष्ट चिरञ्जीवी मध्येका एक मानिन्छ ।
त्रेतायुगको आरम्भमा यो तिथिबाट भएको थियो । त्यसैले यो तिथिलाई चिरञ्जीवी तिथि पनि भनिन्छ ।
महादेव र पार्वतीको विवाह भएको पावन दिनका रूपमा लिइने अक्षय तृतीयामा साधुसन्त, ब्राह्मण, दीनदुःखीलाई गरिएको दान र शुभकार्य क्षय हुन्न भनिन्छ। भगवान् नर–नारायण, हयग्रीवको जन्म पनि यसै तिथिमा भएको थियो ।
स्वयंसिद्ध हुने भएकाले पनि नयाँ कामको सुरुआत यसै दिन गर्दा धेरै राम्रो हुने मानिन्छ ।
यस दिन जौं ,गहुँ, चना, दही, चामल, फलको रस, दूधबाट बनेका मिठाई, सुन र जलले भरिएको कलश, अन्न र चिज दान गर्नुपर्ने मान्यता छ ।
अक्षय तृतीयामा भुटेको जौको पीठो (सातु) र सक्खर पानीको सर्वत पिउने मान्यता छ ।
पशुपति गुठी गोश्वारा कार्यालयले अक्षय तृतीयाको अवसरमा पशुपति परिसरमा र गुठी संस्थानले राजगुठी अन्तर्गतका मुलुकका सबै देवस्थलमा सातु सर्वत वितरण गर्ने प्रचलन रहे पनि कोरोना संक्रमणको लागि अपनाइएको लकडाउन र सामाजिक दूरी कायमको व्यवस्थाले सातु सर्वत वितरण प्रभावित भएको छ ।
सातुले पूर्ण रूपमा पौष्टिकता प्रदान गर्ने र गर्मीमा सर्वतले शीतलता प्रदान गर्दै शरीरमा ऊर्जा दिन्छ। योग, ध्यान, न्यास गर्ने सात्विकले सातु सर्वत खाँदा निकै राम्रो हुन्छ।
यसपटक यो दिन निकै दुर्लभ राम्रो योग परेको छ ।
स्वराशी शुक्रसंग चन्द्र र रोहिणी नक्षत्रको योग परेको छ । यो योगलाई लाभदायी मानिन्छ । रोहिणी नक्षत्रका स्वामी चन्द्रदेव हुन् । यो अक्षय तृतीयामा शुक्र–चन्द्रको युति वृष राशीमा रहने छ । वृष शुक्रको राशी हो र चन्द्रको उच्च राशी हो । यस दिन नक्षत्र नि रोहिणी नै हुनेछ ।
यो योग २३ वर्षपछि जुरेको पनि बताइएको छ ।
अक्षय तृतीयामा यदि रोहिणी नक्षत्र भएन भने खराव शक्तिले कब्जा जमाउँछ । तर यसपटक रोहिणी नक्षत्र छ । यो नक्षत्रमा चन्द्र वृष राशीमा हुनेछ । वृष चन्द्रको उच्च राशी हो । चन्द्र वनस्पतिको स्वामी हुनुका साथै धन र मनको पनि देवता हो ।
रोहिणी नक्षत्र हुँदा विश्वभरका लागि आगामी दिन सुखदायक हुने मान्यता छ । यसले विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपको असर कम हुने विश्वास गर्न सकिन्छ ।
शनि आफ्नै राशीमा रहँदा सूर्य र मंगल उच्चमा रहने छन् भने गुरु तल रहने छ ।


















