मुम्बई(भारत),१७ बैशाख(बीबीसी) । प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधनभएको छ। उहाँ ५४ वर्षको हुनुहुन्थ्यो।
स्वास्थ्य बिग्रिएपछि मङ्गलबार खाँनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।
उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। तर उहाँलाई किन सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दी सेवाले जनाएको छ।
खानको परिवारले पनि यसबारे केही भनिसकेको छैन।
उहाँले पानसिंह तोमार, मकबूल, लाइफ अफ पाई, जुर्यासिक पार्क, स्लमडग मिलीअनेअरजस्ता हलीवुड चर्चित चलचित्रमा अभिनय गरेका छन्। उहाँको अभिनयको धेरैले प्रशंसा गरेका छन्।
यसअघि इरफान खानका एक प्रवक्ताले विज्ञप्तिमार्फत् उनलाई पेटको सङ्क्रमा भएको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका थिए।
बलियो इच्छाशक्ति र शुभचिन्तकहरूको प्रार्थनाले खान ठिक हुने अपेक्षा ती प्रवक्ताले गर्नुभएको थियो।
इरफान खानको रोग
गत वर्ष इरफान खान लन्डनमा उपचार गराएर फर्किएका थिए।
त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो।
अङ्ग्रेजी मीडीअम चलचित्रमा काम गर्ने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको महसुस गरिएको बताइएको छ।
उक्त चलचित्रको छायाङ्कन कैयौँ पटक रोक्नुपरेको थियो। इरफानले स्वस्थ महसुस गरेपछि कतिपय दृश्यको छायाङ्कन गरिएको थियो।

गत शनिवार इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो।
लकडाउनका कारण इरफान खानले आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाउनुभएन। भिडिओ कलबाट उहाँले धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा सहभागिता जनाएको बताइएको छ।
इरफान खान मस्तिष्कमा हुने ‘न्यूरोएन्ड्रोक्राइन ट्यूमर’ बाट पीडित हुनुहुन्थ्यो। दुई वर्षअघि उहाँको रोग निदान भएको थियो।
त्यसपछि उहाँ आफैँले ट्विटरबाट आफूलाई लागेको रोगबारे जानकारी दिनुभएको थियो।
त्यस बेला उहाँले ट्वीट गर्नुभएको थियो, ‘जिन्दगीमा अकस्मात् कहिलेकाहीँ यस्तो हुन्छ जसले तपाईँलाई अघि लिएर जान्छ। मेरो जिन्दगीका पछिल्लो केही समय यस्तै रह्यो। मलाई न्यूरोएन्डोक्राइन ट्यूमर नामक रोग लाग्यो। तर मेरो आसपास भएका मानिसको प्रेम र शक्तिले मलाई आशा जगाइदिएको छ।’
रोगबारे थाहा भएपछि उहाँ उपचारका लागि लन्डन जानुभएको थियो। एक वर्ष त्यहाँ उपचार गराएर उहाँ मार्च २०१९ मा भारत फर्किनुभएको थियो।


















