Prakash Adhikari April 30, 2020

मञ्जु कल्याल /बीबीसी न्यूज नेपाली

दार्चुला. १८ बैशाख। सिमापारीको भारतीय शिविरमा रहेका नेपालीलाई स्वदेश भित्र्याउन सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

भारतमा लकडाउन अर्थात् बन्दाबन्दी सुरु भएपछि भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू आफ्नो घर फर्कन नेपाल भारत सीमामा आइपुगेपछि नेपाल सरकारले नेपालमा पनि बन्दाबन्दी रहेको भन्दै आवागमन बन्द गरिदिएको थियो।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवर भन्नुहुन्छ, “चैत १७ गतेदेखि भारतका विभिन्न शिविरहरूमा बसेका नेपालीहरूलाई एक महिना बितिसकेपछि बिहीवार बिहान दार्चुलाका दुईवटा नाका खोलेर स्वदेश ल्याउन सुरु गरिएको हो।”

india-quarantines-500-nepalis-stranded-at-border

बैतडी र बझाङ जिल्लाका नागरिकलाई दत्तु पुलघाट तथा दार्चुला र अन्य जिल्लाका नागरिकलाई खलङ्गा पुलघाटबाट स्वदेश ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो।

कुँवरका अनुसार खलङ्गा पुलघाटबाट आएकाहरूको महेन्द्र नमुना माध्यमिक विद्यालय खलङ्गा र खुलामञ्चमा स्वास्थ्य जाँच गरि बिहीवार नै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी भइरहेको छ।

दत्तु पुलघाट प्रवेश गरेकाहरूको दत्तु खेलमैदानमा स्वास्थ्य जाँच गरि सम्बन्धित जिल्लामा पठाइने बताइएको छ।

प्रहरी

बझाङ र बैतडी जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू नै दार्चुला आइपुगेका थिए।

आफ्नो गाउँठाउँमा आफ्ना बासिन्दा लैजान भन्दै सोमवार नै जनप्रतिनिधिहरू सदरमुकाम खलङ्गा आइपुगेका थिए ।

भारतमा शिविरमा बसेकाहरूबाट प्राप्त जानकारी अनुसार ज्यालामजदुरी गर्न नेपालका ११ जिल्लाबाट पिथौरागढका विभिन्न क्षेत्रमा गएका नेपालीहरुमध्ये सबैभन्दा बढी बैतडीका छन्।

शिविरहरूमा बैतडीका ३ सय १४ छन् भने बझाङका २ सय २८ जना रहेका छन्।

शिविरमा दार्चुलाका १ सय ५२, कैलालीका ६८, डडेल्धुराका २२, अछामका १८, सुर्खेतका १५, जाजरकोटका ३, दैलेखका २ र डोटीका १ जना रहेका छन्।

उनीहरूलाई सिमापारी धारचुलाको बरम, बालुवाकोट, निगलपानी र धारचुलाको स्टेडियममा राखिएको छ।

घर फर्कने आफ्नो अधिकार भन्दै यसअघि उनीहरूले नाराबाजी समेत गरेका थिए।  अधिकारकर्मीहरूले उनीहरूको मानव अधिकार हनन् भएको बताएका थिए।

न्यायकर्मीहरूले उनीहरूलाई रोकेर सरकारले संवैधानिक हक खोसेको बताएका थिए  ।

Indian government to quarantine Nepalis stranded in Dharchula

Share Now

Leave a comment.