Prakash Adhikari October 18, 2026

जनकपुरधाम (धनुषा), १ कार्तिक। मधेश प्रदेशमा नयाँ सरकार गठनको समीकरण निर्माणका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)नेपालबीच तीव्रताका साथ छलफल अघि बढेको छ। जनकपुरधाममा आयोजित छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित दुवै दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

बैठकमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवसमेत सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी एक नेताका अनुसार जसपा नेपालकै नेतृत्वमा नयाँ प्रादेशिक सरकार गठन गर्ने गरी प्रारम्भिक सहमति जुटेको छ। दुवै दल सरोज कुमार यादवको नेतृत्वमा नयाँ गठबन्धन निर्माण गर्दै सरकार बनाउने प्रयासमा लागेका छन्।

यसअघि शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट अलग हुने निर्णय गर्दै आफ्नो समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशमा नयाँ बहुमतीय सरकार गठनको बाटो खुलेको हो।

कुल १ सय ७ सिट रहेको मधेश प्रदेश सभामा सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत पुर्याउन ५४ सिट आवश्यक पर्छ। हाल मधेश प्रदेश सभामा २७ सिटसहित जसपा नेपाल सबैभन्दा ठूलो दलका रूपमा रहेको छ भने २३ सिटसहित नेकपा एमाले दोस्रो ठूलो दल हो।

यसैगरी नेपाली कांग्रेसको २२ सिट र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १५ सिट रहेको छ।

एमाले र जसपा नेपाल मिलेको खण्डमा बहुमत निकट पुग्दछन भने अन्य प्रदेश सरकार निर्माणमा एमाले र नेकपाबीच भएको समझदारी अनुरुप नेकपाले सहयोग दिएमा बहुमतका लागि आवश्यक सिट सहजै पुग्ने देखिन्छ।

Share Now