प्रकाश अधिकारी
काठमाडौं, १९ बैशाख । आफूमाथि सरकार र पार्टीको नेतृत्व दुवै छाड्न पार्टीभित्रैबाट आएको दबाबलाई निस्तेज पार्न प्रधानमन्त्री के पी शर्मा ओलीले फाल्नुभएको जाल दुईदिन नपुग्दै च्यातिएको छ ।
गत बुधबार बैशाख १७ मा प्रधानमन्त्री निवासमा भएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा उहाँले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो ।
उहाँविरुद्ध मुखर भएर बोल्ने दुई नेताहरुलाई झट्ट हेर्दा आकर्षक लाग्ने पदको लोभ देखाएर त्यसदिनमा उहाँहरुको मुख टाल्ने सफलता प्रधानमन्त्री ओली र उहाँको गुटलाई मिले पनि २४ घण्टा हुँदै ३६ घण्टामा आइपुग्दा उहाँको नक्कली आश्वासनको भेद अन्य नेताहरुले पत्ता लगाए । सचिवालयमा आफ्नो विरुद्ध मुखर भएर आएका वरिष्ठ चारजना नेताहरुमा फुट ल्याउने उद्देश्यले सो प्रस्ताव सारिएको कुरा छर्लड. हुन आएको छ ।
बामदेवलाई असंभव आश्वासन
प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो विरुद्ध मुखर भएर प्रस्तुत हुनुभएका पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतमको मुखमा बुझो लगाउन उहाँले प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सार्नुभएको थियो । झट्ट हेर्दा यो आकर्षक लागे पनि तर तत्कालका लागि यो असंभव जस्तै देखिन्छ । प्रथमत : नेपालको संविधानले प्रतिनिधिसभाका सदस्यमात्र प्रधानमन्त्री हुन पाउने व्यवस्था गरेको छ । बामदेव गौतम प्रतिनिधिसभाको सदस्य नै हुनुहुन्न ।
उहाँलाई प्रतिनिधिसभाको सदस्य बनाउन नेकपाको पकड भएको जिल्लाका कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिलाई राजिनामा गराएर उपनिर्वाचनमा जिताएर ल्याउन पर्ने हुन्छ । यसका लागि कम्तिमा ६ महिनाको समय लाग्ने छ । बामदेवलाई छ महिनासम्म थाड.नामा सुताएर आफ्नो पाउ मोल्न लगाउने दूषित मनशायले यो पासा फालिएको छर्लड. जस्तै छ ।
उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने अर्को विकल्प भनेको उहाँलाई राष्ट्रिय सभाको सदस्य बनाएर संविधान संशोधनमार्फत राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बनाउने व्यवस्था गर्ने हो । यसका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधन गर्न दुईतिहाईको मत आवश्यक पर्दछ । नेकपासंग अहिले दुईतिहाईको मत छैन । अन्य दलहरुको समर्थन जुटाउन नेकपालाई अहिले सजिलो पनि छैन् । मधेश केन्द्रित दलहरुलाई विभाजन गर्ने निहित उद्देश्यले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीप्रति सबै विपक्षी दलहरु सशंकित बनेका छन् । अन्य दलको समर्थन विना संविधान संशोधन संभव छैन ।
पार्टी उपाध्यक्ष गौतमप्रति प्रधानमन्त्री ओलीको अन्तरात्मादेखि विश्वास पनि रहेको देखिदैन । गत निर्वाचनमा उहाँलाई पराजित गरेर उहाँको महत्वाकांक्षालाई चकनाचूर बनाउन ओलीसमर्थक नेता कार्यकर्ताहरु नै लागेको बताइन्छ । उहाँको पराजयसम्बन्धमा छानविन गर्न बनेको आन्तरिक समितिले अन्तरघात गरेको प्रमाणसहित दोषी ठहर्याएका नेता र तथा कार्यकर्ताहरुलाई पार्टीले कारबाही गरेको छैन बरु उल्टै प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएर सम्मानित गरेको आरोप लाग्दै आएको छ ।
गत पुस महिनामा पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोेनित हुने सदस्यमा उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरी सो अनुरुप मन्त्रिपरिषद्बाट सिफारिश गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो । तर प्रधानमन्त्रीले सो निर्णयलाई अल्झाएर राखिररहनुभएको छ । संकट पर्दा पार्टीभित्र बार्गेन गर्ने आधार बनाउनुभएको छ । यसैले अन्तरात्मादेखि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्छ भन्नेमा नेकपाका कोही पनि विश्वस्त हुन सकेका छैनन् ।
नेता नेपाल पनि सशंकित
गत बुधबारको सचिवालय बैठकमा पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्षको लोभ देखाएर चूप लाग्न बाध्य बनाउनु भएका प्रधानमन्त्रीका चालबाजी नेपाल पक्षधरले भोलिपल्ट मात्र थाहा पाए । बिहिबार भएको भेटबार्तामा नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउन आफू तयार रहेको जानकारी प्रधानमन्त्री ओलीले दिएपछि नेपाल पक्षले झुक्याउने खेल भएको महसुस गरेको छ ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरिएपछि नेकपामित्रको पूर्व एमाले समूहले पार्टीमा नेता नेपालको सक्रियताको अपेक्षा गरेका छन र जिल्ला जिल्लााबाट दबाब पनि बढेको छ । पूर्व एमालेको लिगेसीमा रहेका नेता तथा कार्यकर्ताहरुले अझैपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तरात्मादेखि पार्टीको अध्यक्षको रुपमा स्वीकार गरेका छैनन् । उनीहरु अर्को अधिवेशनमा पूर्व एमाले लिगेसीकै अध्यक्ष निर्वाचित होस् भन्ने चाहान्छन् । यसकालागि मेचीदेखि महाकाली दौडने र खट्ने नेताको आवश्यकता छ । प्रधानमन्त्री ओली बालुवाटारको सयनकक्ष र क्याबिनेट मिटिड.हलबाहेक अन्यत्रबाट गर्न काम सम्पन्न गर्न सक्ने अवस्थामा हुनुहुन्न । त्यसैले नेता नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव स्वीकार गरेर ओलीको पाउ मोलेर दिन कटाउने विकल्पमा संझौता नगर्न दबाब बढ्दै आएको छ ।
नेपाल पक्षधरहरुले प्रधानमन्त्री ओलीमा विषालु सर्पजस्तो प्रवृति रहेको र कुनैपनि बेला फडा उठाएर डस्न सक्ने भएकोले कमजोर भएको बेलामा उठननसक्ने गरी तह लगाउन पनि सुझाव दिएका छन् ।
प्रचण्ड र माओवादी झन रुष्ट
प्रधानमन्त्री ओलीले बुधबार फाल्नुभएको पासाले नेकपाभित्रको पूर्वमाओवादी समूहलाई झन रुष्ट बनाएको छ । पार्टीको तेस्रो अध्यक्षको रुपमा नेता नेपाललाई ल्याउने र प्रधानमन्त्रीमा बामदेव गौतमलाई ल्याउने प्रस्तावले पार्टी एकताको समयमा भएका दुवै सहमतिको उल्लघन भएको पूर्वमाओवादी नेताहरुको ठहर छ ।
पार्टी एकताका समयमा पार्टीको अध्यक्षमा दुवै पार्टीको संयुक्त नेतृत्व रहने, सरकारको नेतृत्व आधा आधा समय आलोपालो गर्ने र आगामी महाधिवेशनमा सहमतीय विधिबाट पार्टी नेतृत्व चयन गरी प्रचण्डलाई पार्टी अध्यक्ष बनाउने सहमति भएको बतान्छ ।
तर प्रधानमन्त्री ओलीको बुधबारको प्रस्तावले पार्टीमा पूर्व माओवादीहरुको स्थान नरहेको र भविष्यमा पनि नरहने स्पष्ट संकेत दिएको छ । बहुमतीय पद्धतिबाट नेतृत्व चयन गर्दा अधिकांश जिल्लामा पूर्व एमालेका प्रतिनिधिहरु निर्वाचित भएर आउने अवस्था रहन्छ र केन्द्रीय नेतृत्वमा पूर्वमाओवादीहरुको उपस्थिति नगण्य हुनेछ ।
झलनाथलाई चस्को
प्रधानमन्त्री ओलीले पार्टीको तेस्रो अध्यक्षको रुपमा नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेपछि बरियताको क्रममा तेस्रो स्थानमा रहनुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि झस्कनुभएको छ । ओलीको प्रस्ताव अनुसार स्थायी समिति र केन्द्रीय समितिले अध्यक्ष त्रयको अवधारणा सहित पार्टीको विधान संशोधन गरेमा खनाल चौथो स्थानमा झर्नुहुनेछ ।
वास्तवमा प्रधानमन्त्री ओलीले बुधबार आफूविरुद्ध रहेका सचिवालय सदस्यहरुलाई साम,दान,दण्ड र भेदको नीति अख्तियार गरी फुटाउन प्रयोग गर्नुभएको ब्रह्मास्त्र थियो । उहाँले यो नीतिलाई कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्र र ठोस कार्यक्रम शनिवारको सचिवालय बैठकमा प्रस्तुत गर्न सक्नुभएन भने नेकपाभित्रको शक्ति संघर्ष अझै चकिन सक्नेछ ।
प्रधानमन्त्री ओलीका तुरुप सार्वजनिक भैसकेकोले उहाँविरुद्ध रहेको प्रचण्ड- नेपाल-खनाल -गौतम गठबन्धनले उहाँका गुलिया कुरामा भुलेर बस्ने अवस्था नरहेको, देश,जनता र पार्टीहितका लागि उहाँलाई हटाउनुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । नेताहरुलाई आफने अडान परिवर्तन नगर्न दोस्रो तहका नेता र कार्यकताहरुको दबाब बढिरहेको छ ।बिहीबार खुमलटारस्थित प्रचण्ड निवास पुगेर स्थायी समिती सदस्यहरु भिम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, मातृका यादव, हरिबोल गजुरेल र केही केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा सम्बन्धी शर्तबाट दायाँबायाँ नगर्न सुझाव दिएका हुन्।
हेरौं, राजनीतिले कता कोल्टे फेर्ने हो ?