काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ग्राण्ड कर्डन अफ अर्डर अफ राईजिड. सनका विभूषण प्रदान गरेको छ ।
काठमाडौंस्थित जापानी राजदूताबासले बुधबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिइएको हो ।
जापान सरकारले कांग्रेस नेता पौडेललाई सन २०२० को बसन्तमा दिइने विदेशी विधातर्फको सो सम्मान प्रदान गरेको हो । यो सम्मान हरेक बर्ष बसन्तमा २९ अप्रिल र शरद्मा नोभेन्बर ३ मा घोषणा गर्ने गरिन्छ ।
यो सम्मान देश र जनताको लागि बिशेष योगदान गर्ने स्वदेशी तथा विदेशीहरुलाई प्रदान गरिन्छ । राजनीति र कुटनीतिक,अध्ययन र अनुसन्धान औषधी विज्ञान र समाजसेवा, आर्थिक र उद्योग अनि संस्कृति तथा खेलको क्षेत्रमा जापान र संबन्धित मुलुकका बिचमा विशिष्ट योगदान पुर्याउने विदशी व्यक्तिहरुलाई पनि यो सम्मान दिने गरिन्छ ।
जापानले नेता पौडेललाई उहाँ सन १९९९मा सभामुख रहेको समयमा नेपाल र जापानबीच मैत्रीपूर्ण संसदीय मञ्च गठन गरेर विधायिकाहरुको बीचमा अध्ययन,अवलोकन भ्रमण र अनुभव आदानप्रदानको अवसर सिर्जना गरी आपनी सम्बन्ध सौहार्द्रपूर्ण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले यो सम्मान दिइएको बताएको छ । नेता पौडेल नेपाल जापान मैत्री सांसद मञ्चको स्थापना कालदेखि सन् २०१७ सम्म अध्यक्ष पनि हुनुहुन्थ्यो ।
उहाँ मञ्चको अध्यक्ष रहेको समयमा जापानका राजकुमार अकिहितो र राजकुमारी मिचिको, प्रधानमन्त्री योशोरि मोरी र विदेश राज्यमन्त्री मिनोरी किउची लगायतका विशिष्ट अतिथिहरुले नेपालको भ्रमण गरी नेपाल र जापानको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण योगदान भएको थियो ।
साथै उहाँले नेपाल जापान कुटनीतिक सम्बन्धको ४०औ, ५० औ र ६० औं बार्षिकोत्सव समारोहमा पनि सहभागिता जनाउनुभएको थियो ।
यो विभूषण जापानी सम्राटले विशेष समारोहमा प्रदान गर्ने प्रचलन रहेको छ ।