Prakash Adhikari May 3, 2020

 

काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली पत्रकार र उनीहरु कार्यरत संञ्चार माध्यमको लागि बिशेष राहत प्याकेज ल्याउन सरकारसंग आग्रह गर्नुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस(३ मे)का उपलक्षमा सम्पूर्ण मिडियाकर्मीलाई दिइएको शुभकामना सन्देशमा उहाँले राहतको कुरा उठाउनुभएको हो ।

कोभिड १९ को बिश्वव्यापी महामारीका कारण पत्रकारहरुको ब्यक्तिगत स्वास्थ सुरक्षा र रोजगारीमा देखिएको चुनौतिका साथै लकडाउनको समयमा सञ्चार माध्यमहरुको ब्यवस्थापनमा थपिएको चुनौतीको चर्चा गर्दै उहाँले भन्नुभएको छ, ‘विज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसबिचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् ।’

अतः कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न म सरकारसंग आग्रह र माग गर्दछु, कांग्रेस सभापति देउवाले भन्नुभएको छ

यस वर्ष युनेस्कोले तय गरेको ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ नारा अत्यन्त सामयिक भएको उल्लेख गर्दै उहाँले यसै अनुरूप सञ्चारकर्मीले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको भएको र त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको भएको बताउनुभएको छ।

उहाँले प्रेस जगतले सूचनाको हकको संवैधानिक दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टि राख्न नमिल्ने बताउदै ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने  ?’ भन्ने प्रश्न गर्नुभएको छ । उहाँले वर्तमान सरकारका मन्त्रीहरु र प्रधानमन्त्री के.पी. शर्मा ओलीले बारम्बार प्रेसका विरुद्ध दिनुभएका अभिव्यक्ति र ब्यवहार सच्याउन पनि सार्वजनिक रुपले अपील गर्नुभएको छ ।

कांग्रेसका सभापति देउवाले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको उच्च कदर र सराहना गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको गर्दै यसका केही संकेत सरकारका अभिव्यक्ति र ब्यवहारमा देखिएको पनि उल्लेख गर्नुभएको छ ।

‘संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छंदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ’, देउवाले थप्नुभएको छ, ‘ लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंग माथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै नेपाली कांग्रेस सदैव त्यस विरुद्ध प्रखर रुपले उभिने छ ।’

उहाँले नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउंदै अझै परिष्कृत र समायानुकूल बनाउन सफलताको लागि शुभकामना दिंदै नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा पार्टीको सहयोग र समर्थन रहने बताउनुभएको छ ।

Share Now

Leave a comment.