सुर्खेत, २२ बैशाख । कोरोना भाइरसको संक्रमणबाट प्रदेशलाई जोगाउन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता बन्द गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा सोमबार(बैशाख २२ गते ) बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश सरकारले ‘सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले कर्णाली प्रदेशलाई संक्रमणबाट जोेगाउन यस्तो निर्णय गरिएको हो । अब बाँके, सल्यान र कैलालीबाट कर्णाली प्रवेश गर्ने नाकाहरुमा विशेष कडाई हुनेछ।
सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ।
प्रदेश सरकारले हरेक जिल्लाका पालिकाका केन्द्र, बजारहरूमा नागरिकहरुको स्वाब संकलन गरी द्रुत परीक्षण गर्ने पनि तयारी गरेको छ ।
हालसम्म कर्णाली प्रदेशमा एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन भने पूरै नेपालमा अहिलेसम्म जम्मा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।


















