नेपालगञ्ज(बाँके), २३ बैशाख । नेपालगञ्ज उपमहानगरीय क्षेत्रमा आजदेखि तीन दिने निषेधाज्ञा जारी गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रमा एकै दिन १५ जनामा कोरोनाभाइरसको संक्रमण देखापरेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो। जिल्ला प्रशासनले मंगलबार बिहान ११ बजेदेखि बिहीबार मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यस अवधिमा हिडडुल, जमघट, जुलुस,सभासम्मेलन केही गर्न पाइने छैन् । नगरबासी सबैलाई घरबाट ननिस्केर कोरोना संक्रमण रोक्न सघाउन जिल्ला र नगर प्रशासनले सचेत गराएको छ ।
सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वाब संकलन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
नेपालगन्जमा आइतबार मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको थियो भने शुक्रबार एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।


















