काठमाडौं, २३ बैशाख । कोरोनाभाइरसको उद्गमस्थल अर्थात मुहान मानिएको बुहानका नेपालीलाई जहाज चार्टड गरेर नेपाल भित्र्याउने तर भारतका विभिन्न शहरहरुबाट नेपालको सीमानाकामा आएर बसेका आफ्ना नागरिकलाई नभित्र्याउने ओली सरकारको निर्णय प्रत्युत्पादक बन्ने देखिएको छ ।
भारतमा कोरोना भाइरसका बिरामी छिटफुट देखापर्ने बित्तिकै लगाइएको लकडाउनको कारण कामको सिलसिलामा त्यहाँका विभिन्न शहरमा पुगेका नेपालीहरु विभिन्न दुःख कष्ट झेल्दै नेपाली सीमामा आएर थन्किएका छन् । नेपालीहरु अहिले भारतले व्यवस्था गरेको क्वारेन्टाइन शिविरहरुमा रहेका छन् । ती शिविरहरुमा कोरोना भाइरस संक्रमणका बिरामी पाइएको समाचार छैन् । १५ दिने इन्क्युवेशन पियरिड समेत नाधिसकेका नेपालीलाई स्वदेश फर्कन सरकारले दिएको छैन् ।
तर लक डाउनको डेढ महिने अवधिमा भारतका विभिन्न शहरहरुमा कोरोनाको संक्रमण भने ह्वात्तै फैलिएको छ । सोमबारमात्र भारतमा ३ हजार ९ सय ३२ जना कोरोनाका नयाँ संक्रमित बिरामी भेटिएका छन् । हिजो कोरोना संक्रमणबाट १ सय ७५ जनाको मृत्यु भएको छ। सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा उच्च हो।
त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ। महाराष्ट्रमा झण्डै १३ हजार मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरातमा ५ हजार ४ सय भन्दा बढी मानिस संक्रमित भएका छन्। राजधानी नयाँदिल्लीमा ४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।
यी राज्यहरुमा नेपाली कामदारहरुको संख्या उच्च रहेको बताइन्छ । संक्रमण यहि दरमा बढ्यो भने भारतका नेपालीहरु पनि प्रभावित हुने निश्चितै देखिन्छ ।
नेपालका कोरोनाभाइरसको संक्रमणका कारण एक जनाको पनि मृत्यु नभएको र संक्रमितको संख्या पनि १ सय नपुगेको अवस्थामा कोरोनाको संक्रमणले महामारीको रुप लिएका युरोपका फ्रान्स, जर्मनी, इटाली, बेलायतका साथै अष्ट्रेलिया र अमेरिकाका सरकारहरुले नेपालबाट आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत उद्धार गरी स्वदेश पुर्याएको घट्नाबाट नेपालले शिक्षा लिन नसकेको देखिन्छ ।
आफ्ना नागरिकलाई स्वदेश फर्कने सम्बन्धमा सुझाव दिंदै नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले संकटको समयमा सबै देशका सरकारको प्रथम दायित्व आफ्ना नागरिकहरुको सुरक्षा हुने भएको र नेपालको स्वास्थ्य पूर्वाधार भरपर्दो नभएकोले आफ्नो देशमा फर्कन आग्रह गर्नुभएके थियो । भारतमा कोरोनाको संक्रमण दर तीव्र हुन गएमा भारतमा रहेका नेपालीहरुको अवस्था नाजुक हुने देखिन्छ । सरकारले दिने राहतको सुविधा भारतीयले पाउने छन् अस्थायी रुपमा बसेका नेपालीहरुले भारतजस्तो लुटपाट हुने मुलुकमा सहज रुपमा पाउन सक्ने छैनन् । संक्रमितको उपचारमा पनि विभेद सहनु पर्नेछ ।
कोरोना संक्रमणको ४ महिने अवधिलाई नियाल्दा भारतभन्दा नेपाल सुरक्षित रहेको देखिन्छ भने ग्रामीण स्वास्थ्य पूर्वाधार र सामाजिक चेतनास्तर पनि भारतभन्दा नेपालमा राम्रो भएको देखिन्छ । कोरोनाभाइरसको प्रकोपले भयानक रुप लिनु अगावै भारतमा रहेका नेपालीको स्वास्थ्य सुरक्षा र सहजरुपमा राहत पाउने व्यवस्था मिलाउन जरुरी देखिन्छ । यसका लागि दिल्लीस्थित भारतीय राजदूताबास, भारतमा रहेका नेपाली संगठनहरु, नेपालका राजनीतिक दलका प्रवासी संगठनहरुलाई सक्रिय रुपमा परिचालन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
कोरोनाभाइरसको रोकथाम र नियन्त्रण तथा संक्रमित बिरामीहरुको उपचारमा पनि प्रदेश सरकारहरुको भूमिका प्रभावकारी देखिंदै आएको परिप्रेक्षमा सीमाना आइपुगेका नेपालीलाई तिनको स्थायी बसोबास अनुरुप संबन्धित प्रदेशका सरकारहरुलाई जिम्मा लगाउने हो भने सीमामा आएर थन्किएका नेपालीहरुको उद्धारको साथै तिनीहरुको क्वारेन्टाइन तथा एकान्तवासको पनि समुचित प्रबन्ध गर्न सरकारलाई सहज हुनेछ ।
अन्यथा अर्को चुनावमा भारतमा भएका नेपालीप्रतिको सरकार र नेपालका राजनीतिक दलहरुको रवैयाले नसोचेको नतिजा दिन सक्नेछ ।
भारतका २७ वटा प्रान्तमा कोरोना संक्रमण देखिसकेको छ।
कोरोनाभाइरसको संक्रमणबाट भारतलाई जोगाउन आगामी १े७ मेसम्मका लागि लकडाउन थपिएको छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।
कोरोनाको प्रभाव कम भएका क्षेत्रमा लकडाउन खुकुलो पार्ने र बढी भएको क्षेत्रमा कडा पार्ने रणनीति भारतले अपनाएको छ। त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ।


















