काठमाडौं, २३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगञ्जमा थप सात जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ ।
अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।
मङ्गलवार बिहान एउटा विज्ञप्तिमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गर्नुभएको छ।
नयाँ संक्रमितहरूमा ९ देखि ५५ वर्ष उमेरका व्यक्ति छन् । सबैको स्वास्थ्यस्थिति सामान्य भएको मन्त्रालयले जनाएको छ। तीमध्ये तीन पुरुष र चार महिला छन्।
सबै जना नेपालगञ्ज ८ का निवासी भएको र उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै प्रदेश नं ५ मा कोरोनाभाइरस भएका व्यक्तिको सङ्ख्या २४ पुगेको छ।
यसअघि नेपालगञ्जमा १५ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि आइतबार भएको थियो।
नेपालगञ्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न थालिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।
वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो।
भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको थियो। त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको थियो।
को हुन् नेपालगञ्जका सङ्क्रमित ?
अहिले नेपालगञ्जमा मात्र कोभिड १९ भएका व्यक्तिको सङ्ख्या २३ पुगेको छ। नेपालगञ्ज उपमहानगरपालिका ८ जोलहनपुरुवामा भेटिएका सङ्क्रमित व्यक्तिलाई पछ्याउने क्रममा सोही स्थानका अरू २२ जनामा कोरोनाभाइरस देखिएको हो।
मङ्गलवार सङ्क्रमण पुष्टि भएकामध्ये ती ६० वर्षीय पुरुषको परिवारका सदस्य पनि छन्।
नेपालगञ्जमा सङ्क्रमण देखिएका व्यक्तिमा सात र नौ वर्षका बालिकासहित ११ महिला र १२ पुरुष छन्।
पहिलो सङ्क्रमित व्यक्तिको परिवार, आफन्त, उनले पढाउने विद्यार्थी र उनको सम्पर्कमा रहेका ९४ जनाको शनिवार र आइतबार स्वाब सङ्कलन गरिएको थियो।
सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका अन्य मानिसलाई पहिचान गरी थप एक सय जनाभन्दा बढीबाट नमूना सङ्कलन गर्न लागिएको जानकारी बीबीसी संवादाता विमला चौधरीले दिनुभएको छ।
नेपालगञ्जमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ह्वात्तै बढेको पाइएपछि कोरोनाभाइरस महामारी फैलिन नदिन, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान गर्न र परीक्षणका लागि नमुना सङ्कलनलाई प्रभावकारी बनाउन मङ्गलबार बिहान ११ बजेदेखि तीन दिनसम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार सङ्क्रमित व्यक्तिसँग भिडिओ कल गरेर उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिबारे विस्तृत रूपमा बुझ्ने काम भइरहेको छ।
नेपालको स्थिति
अहिले नेपालमा सर्वाधिक सङ्क्रमित व्यक्तको सङ्ख्या प्रदेश नं १ मा छ। उनीहरू सबैलाई विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ।
अहिलेसम्म कर्णाली प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा कोरोनाभाइरस भेटिएको छ।
सोमवार अपराह्णसम्म प्राप्त विवरणअनुसार पीसीआर विधिबाट देशभरि १३ हजार ६ सय वटा भन्दाबढी परीक्षण भएका थिए।
मन्त्रालयका अनुसार सोमवारसम्म २१ हजार ५ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो।
मन्त्रालयका अनुसार सबै सङ्क्रमित व्यक्तिको स्वास्थस्थिति सामान्य छ।
नेपालमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन।(बीबीसीबाट)


















