Prakash Adhikari May 5, 2020

 

दोहा(कतार),२३ बैशाख(बीबीसी) । नेपाली कामदारहरू कार्यरत अधिकांश खाडी मुलुकहरूले सङ्क्रमितहरूको राष्ट्रियता नखुलाउँदा ती देशहरूमा कति नेपाली नागरिक कोरोनाभाइरसबाट सङ्क्रमित भए भन्ने यकिन गर्न गाह्रो भएको अधिकारीहरूले बताएका छन्।

नेपाली कामदारहरू रहेका विभिन्न देशका राजदूतहरूका अनुसार त्यहाँको सरकारले राष्ट्रियता नखुलाउने नीति लिँदा नेपालीको विवरण पाउन निकै कठिन भएको हो।

ठूलो सङ्ख्यामा नेपालीहरू कार्यरत रहेकोमध्येको एउटा देश कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भन्नुभयो, ‘नेपालीहरू पनि छन् सङ्क्रमणमा तर उनीहरूले (कतार सरकारले) राष्ट्रियता जनाएर तथ्याङ्क नदिँदाखेरि यति नै नेपाली छन् भन्नसक्ने स्थिति छैन।’

खाडीका नेपाली

‘बीचबीचमा उहाँहरूले भने अनुसार नेपालीहरू त्यति सिरियस बिरामी त्यति छैनन् सामान्य स्वास्थ्य स्थितिमा छन्। थोरै मान्छेहरू मात्र अस्पताल लगेर उपचार गर्नुपर्ने स्थितिमा छन् भन्ने कुरा गर्नु भएको छ।’

राजदूत भारद्धाजले बेलाबेलामा अनौपचारिक रूपमा विभिन्नखाल विवरणहरू दूतावासमा आए पनि आधिकारिक विवरण नभएकाले कतारमा हालसम्म कति नेपाली कोरोनाभाइरसबाट सङ्क्रमित भए भन्न नसकिने बताउनुभयो।

भारद्वाजले राष्ट्रियता जनाएर तथ्याङ्क नदिँदा अन्योल उत्पन्न भएको पनि उल्लेख गर्नुभयो।

दूतावासका अधिकारीहरूका अनुसार कतार सरकारले कुनै पनि देशका नागरिकहरूको राष्ट्रियता नखुलाई उपचार गर्ने नीति लिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि त्यस्तै अवस्था रहेको त्यहाँस्थित नेपाली राजदूतले बताएका छन्।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो, ‘यहाँ पनि विगत एक महिनादेखि राष्ट्रियता खुलाएर कोभिड-१९ सङ्क्रमितहरूको विवरण सार्वजनिक हुन सकेको छैन। जतिखेर नेपालीहरूको यतिलाई सङ्क्रमण भयो भन्ने विवरण आउँथ्यो त्यसबेला हामीलाई सहज थियो।’

खाडीका नेपाली
‘हामीलाई के विश्वास छ भने सङ्क्रमितको राष्ट्रियता नखुलाउँदा पनि यूएई सरकारले आफ्ना नागरिक हुन् वा बाहिरका सबैलाई उच्चस्तरीय र निस्शुल्क स्वास्थ्य सेवा दिइरहेको छ र उहाँहरूको राम्रो उपचार भइरहेको छ।’

नेपाली कामदार रहेका अरब मुलुकहरूमध्ये सबैभन्दा धेरै नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको भनिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दास गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) का अधिकांश देशहरूले राष्ट्रियता नखुलाइकन सङ्क्रमितको विवरण सार्वजनिक गर्ने गरेका बताउँनुहुन्छ ।

‘बहराइनमा मात्र राष्ट्रियता खुलाइएकाले यहाँ धेरै नेपालीमा सङ्क्रमण देखिएको जस्तो भयो,” बीबीसीसँग सुन्दासले भन्नुभयो, “तर अन्यत्र पनि धेरै सङ्क्रमित भएका हुनसक्छन्।’

राजदूत सुन्दासका अनुसार हालसम्म बहराइनमा १ सय ५७ जना नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

त्यसमध्ये कति निको भइसके र कति उपचाररत छन् भन्ने तथ्याङ्क भने एकरदुई दिनमा आउने छ।

साउदी अरेबियास्थित नेपाली दूतावासका अधिकारीहरूले पनि कति नेपाली कोरोनाभाइरस सङ्क्रमित छन् भन्ने यकिन जानकारी नभएको बताए।

केहीअघि जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले आफ्नै सम्पर्कका आधारमा सङ्कलित तथ्याङ्कलाई सार्वजनिक गरे पनि त्यो साउदी सरकारले दिएको तथ्याङ्क नभएको उनीहरूले बताएका छन्।

खाडी देशमा रहेका नेपाली अधिकारीहरूले पर्याप्त जानकारीका अभावमा कोभिड सङ्क्रमित भनिएका नेपालीहरूको अवस्थाबारे आफूहरूलाई खासै थाहा नभएको पनि उल्लेख गरेका छन्।

कुवेतमा २५ सयभन्दा बढी नेपाली ‘सेल्टर’मा

यसैबीच कुवेत सरकारले दिएको आममाफीमा सहभागी भई स्वेदश फर्कन चाहने २५ सयभन्दा बढी नेपालीहरूलाई सरकारी ुसेल्टरुमा राखिएको त्यहाँस्थित दूतावासले जानकारी दिएको छ।

विभिन्न कारणले अवैध बनेका नेपालीहरूलाई कुवेत सरकारले आममाफी दिने सूचना जारी गरेको थियो।

गत अप्रिल २६ देखि ३० अप्रिलसम्ममा नेपालीले पनि त्यस्तो आममाफीमा सहभागी हुन निवेदन दिन पाउने थिए।

खाडीका नेपाली
त्यसरी सहभागीहरूलाई कुवेत सरकार आफैँले उसकै खर्चमा नेपालसम्म पठाउने जनाएको छ।

कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले भन्नभयो, ‘कुवेत सरकारले आममाफी गर्दा नै तीनवटा कुराहरू भनेको थियो( यसमा सहभागी भएर फर्कादा भिसा नविकरण नगरेबापतको जरिवाना मिनाहा हुन्छ। त्यसरी सहभागी हुनेलाई आफ्नो मुलुकसम्मको हवाई भाडा कामदारले तिर्नुपर्दैन र त्यस्ता कामदारले अन्य कुनै गलत काम गरेका छैनन् भने उहाँहरू फेरि कुवेतमा काम गर्न सक्नुहुनेछ।’

अहिले सरकारी ‘सेल्टर’मा बसिरहेका नेपालीहरूलाई कहिले र कसरी फर्काउने भन्ने निर्णय भइनसकेको भण्डारीले बताउनुभयो।

कुवेतमा झण्डै ७ हजार नेपाली अवैध रूपमा बसेको बताइन्छ त्यसमध्ये २५ सय भन्दा बढीले आमाफी प्रकृयामा भाग लिने इच्छा व्यक्त गरेका छन्।

अघिल्लो साता बीबीसीलाई दिएको अन्तरवार्तामा श्रममन्त्री रामेश्वर राय यादवले मध्य जेठबाट कुवेतबाट कामदार फिर्ती सुरु हुने बताउनुभएको थियो।

Share Now

Leave a comment.