Prakash Adhikari May 7, 2020

 

काठमाडौं, २५ बैशाख । नेपालका सुनचाँदी,, रत्न तथा आभुषण व्यवसायमा संलग्न उद्यमीहरुको एक प्रतिनिधि मण्डलले नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीसंग भेट गरी कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि अबलम्बन गरिएको लक डाउनका कारण परेको असरलाई हटाउने सम्बन्धमा विभिन्न माग प्रस्तुत गरेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनार, महासंघका विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलले लकडाउनको कारण उद्योग, व्यवसायमा परेको प्रतिकूल असरबारे छलफल गरेको थियो ।

महासंघका महासचिव कृष्णलाल महर्जनले प्रकाशित गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइए अनुसार प्रतिनिधि मडण्लले लकडाउनका कारण उद्योग व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न ऋणको साँवा व्याज, किस्ता भुक्तानीमा सहुलियत दिनुपर्ने माग उठाउनुको साथै उद्योग, व्यवसायलाई पुनरुत्थान गर्न अवलम्बन गर्नुपर्ने तात्कालीन एवं दीर्घकालीन उपायबारे लिखित सुझाव दिएको थियो ।

आभुषण क्षेत्रले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं रोजगारी विस्तारमा उल्लेखनीय टेवा पु¥याउने भएकोले यस क्षेत्रको संरक्षण र संबर्धन गर्न विशेष ध्यान दिनु पर्नेमा प्रतिनिधि मण्डलले जोड दिएको थियो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले ब्यवसायीहरुबाट प्राप्त सुझाव एवं अवधारणाप्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिनुभएको थियो ।

 

Share Now

Leave a comment.