काठमाडौं, ८ माघ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो कार्यकारिणी समितिका सदस्य एवम् निर्यात प्रबर्धन समितिका सभापति मनिषकुमार अग्रवालको निधनमा सोमवार एक शोकसभाको आयोजना गरेको छ ।
का अध्यक्ष भवानी राणाको अध्यक्षतामा महासंघ सचिवालयमा बसेको शोक सभाले शोक प्रस्ताव पनि पारित गरेको छ ।
शोक प्रस्तावमा मनिषको अल्पायुमै निधन भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ परिवार स्तव्ध र मर्माहत भएको उल्लेख गरिएको छ । महासंघले मनिषको महासंघलाई अपुरणीय क्षति भएको जनाउदै सिंगो निजी क्षेत्रले एक होनाहार यूवा उद्यमी गुमाएको बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा विक्रम सम्वत २०६४–६७ देखि वर्तमान कार्यकारिणी समितिसम्म निरन्तर आवद्ध रहनु भएका स्वर्गिय अग्रवालले विगतका कार्यकारिणी समितिमा दुई कार्यकाल महासंघको रोजगारदाता परिषद्का उपसभापति जस्तो महत्वपूर्ण पदमा समेत रही श्रम विवाद निरुपण तथा श्रम सम्बन्धी नीति कानून निर्माणका क्रममा महासंघको तर्फबाट अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि महसंघले उल्लेख गरेको छ ।
महासंघको वस्तुगत सदस्य नेपाल वनस्पति घिउ तेल उत्पादक संघ, नेपाल चामल तेल तथा दाल उद्योग संघ, नेपाल चिनी उद्योग संघ लगायतका विभिन्न संघ संस्थासँग समेत आवद्ध स्वर्गीय अग्रवालका तेल, मैदा, प्लाष्टिक्स, चिनी, जुट आदि उद्योगहरु संचालित छन् भने ती उद्योगहरुमा सयौ कामदारले रोजगारी पाइरहेका पनि महासंघले जनाएको छ ।
अत्यन्त मृदुभाषी, हसिलो र मिलनसार स्वभावका स्वर्गीय अग्रवालको निधनले मुलुकले एक जाजल्यवान उद्यमी गुमाएको महासंघले उल्लेख गरेको छ ।
महासंघले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तत्पत परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
शोक सभामा महासंघका अध्यक्ष राणा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य, संघ र संस्थाका पदाधिकारी एवं महासंघ सचिवालयका कर्मचारीहरुबाट स्वर्गीय अग्रवालको तस्वीरमा माल्यार्पण गरि श्रद्धासुमन अर्पण गरिएको थियो ।
स्वर्गीय अग्रवालको सम्मानमा महासंघले सोमवार आधा दिन सचिवालय विदा समेत दिएको थियो ।
ब्लड क्यान्सरको उपचार गर्दागर्दै उनको दिल्लीको मेदान्त अस्पतालमा माघ ६ गते निधन भएको थियो ।