Prakash Adhikari January 22, 2018

काठमाडौं, ८ माघ। नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई)ले आफ्नै नाममा प्रतियोगिता गर्न नेपाल भलिबल संघसँग १ करोड २० लाखको सम्झौता गरेको छ ।

जिल्लाहरुको प्रतिस्पर्धाको आधारमा हरेक प्रदेशको एउटा टिम तयार पारी प्रदेशस्तरीय ७ टिमलाई प्रतियोगितामा सहभागिता जनाउने महासंघले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले भलिबल खेलको बिकासका लागि कोशे ढुङ्गा साबित हुने बताए । उनले भलिबल खेललाई स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म विकास गर्न यसले सघाउने बताए ।

कार्यक्रममा युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीले भलिबलको बिकासमा नयाँ आयाम थपेको धारणा राख्दै यसले निरन्तरता पाउनुपर्ने बताए ।

संझौता हस्ताक्षर कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले भलिबल खेल नेपालका सबै क्षेत्रमा खेलिने भएकाले नै राष्ट्रिय खेल भएको धारणा राख्दै यसको बिकास र बिस्तारमा निजी क्षेत्रको संलग्नताले उचाई दिने कुरा ब्यक्त गरे ।

यहि आउँदो २०७४ चैत्र २० देखी २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि पहिलो चरणमा माघ २५ देखी फागुन १० सम्म जिल्लास्तरीय छनोट र दोस्रो चरणमा फागुन १० देखी चैत्र १० गते सम्म प्रदेश टोलीको टुङ्गो लगाउने योजना रहेको छ ।

प्रदेश स्तरबाट छनोट भई प्रतियोगितामा सहभागि टीमबीचको विजेता महिला र पुरुष टिमले नगद २ लाख, १ लाख र ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनका लागि महासंघले एक वर्षको लागि १ करोड २० लाख प्रायोजन गर्ने छ ।

पत्रकार सम्मेलन तथा सम्झौता–पत्र हस्ताक्षर कार्यक्रमा युुवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले भलिबलको विकास र बिस्तारका लागि नेपाल सरकारले नयाँ योजनाहरु ल्याउने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले युवाहरुलाई प्रोत्साहित गर्ने राष्ट्र्यि खेलको प्रबर्धनमा सहयोग गर्न पाएकोमा सन्तोष लागेको बताएकी थिइन् ।

युवा तथा खेलकुद मन्त्रालयका सह–सचिवको रोहवरमा सम्झौता पत्र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश प्रधानबीच आदन प्रधान भएको थियो ।

Share Now

Leave a comment.