काठमाडौं, १७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप १ सय ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ भने २ सय १९ जना निको भएका छन् ।
मन्त्रालयकाअनुसार शनिवार थपिएका संक्रमित मध्ये १ सय ९ जना कपिलवस्तुका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १६ देखि ६० वर्षका उमेरका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु, यहोधराका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु १५ देखि ५० वर्ष उमेरका छन् । कपिलवस्तुकै विजयनगरका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु २६ देखि ५२ वर्षका छन् ।
सर्लाहीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४० वर्षका छन् । सिराहाका ११ र सप्तरीका ९ जनामा पनि कोरोना भाइरस देखिएको छ ।
धनुषाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ४२ वर्षका छन् । रौतहटका ६ र महोत्तरीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् । उनीहरु १७ देखि ५० वर्ष उमेरका छन् ।
दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । बगलाचुलीका २७ देखि ३८ वर्षका ४ जना र हापुरेका ३० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
संखुवासभामा दुई जना संक्रमित भेटिएका छन् । खाँदबारीका २३ वर्षीय पुरुष र पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै झापाका ४५ वर्षीय पुरुष र ललिपतुरकी २३ वर्षीय महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


















