नयाँदिल्ली(भारत), १८ जेठ (बीबीसी) । भारतमा एकै दिन सर्वाधिक धेरै सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकै दिन देशभरि लागू गरिएको लकडाउनलाई थप खुकुलो पार्ने योजना अघि सारिएको छ।
आगामी जुन ८ तारिखदेखि त्यहाँका कैयौँ क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बताइएको छ।
लकडाउन खुकुलो पार्ने तीन चरणको उक्त योजनाको यो पहिलो चरण हुने बताइएको छ।
कोभिड(१९ बाट भारत अहिले दक्षिण एशियामा सर्वाधिक प्रभावित देश हो।
विद्यालय जुलाईमा खुल्न सक्ने
सम्भवतः जुलाई महिनामा विद्यालय तथा कलेजहरूमा पठनपाठन सुरु गरिनेछ।
तर धेरै सङ्ख्यामा सङ्क्रमितहरू भेटिएका स्थानहरूमा भने लकडाउन कडा नै रहनेछ।
उक्त योजना त्यतिखेर सार्वजनिक भएको छ जतिखेर भारतमा एकै दिनमा ८ हजार जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ।

भारतमा हालसम्म पौने दुई लाख मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने करिब ५ हजार जनाको ज्यान गइसकेको छ।
सवा अर्बभन्दा धेरै जनसङ्ख्या भएको भारतमा कोरोनाभाइरसको सङ्कट अन्य कैयौँ देशहरूको तुलनामा कम नै भएको पाइएको छ।
केही सयको सङ्ख्यामा सङ्क्रमण भेटिनेबित्तिकै भारतभरि दुई महिनाभन्दा अगाडि कडा लकडाउन लागु गरिएको थियो।
महामारीबाट जोगिन भविष्यको सहर कस्तो बनाउने
सरकारी विवरणहरूका अनुसार चाँडै लकडाउन गरिनाले भारतमा ३७ हजारदेखि ७८ हजार जनासम्मको ज्यान जोगिएको छ।
तर अर्थतन्त्रमा लकडाउनको प्रभाव भने अत्यधिक परेको छ। दशौँ लाख श्रमिकहरूले सहरबाट ग्रामीण क्षेत्रमा रहेका घर फर्किन झेलेको कष्टपूर्ण यात्रा (कैयौँ त पैदल नै फर्किए) का तस्बिरले देशलाई स्तब्ध पारिदिएको छ।
अधिकांश सङ्क्रमण थोरै राज्यका केही सहरी भेगमा केन्द्रित भएकाले अब लकडाउनलाई धेरै ठाउँमा खुकुलो पार्न सकिने स्वास्थ्य अधिकारीहरूले भनेका छन्।
भारतभरिका सङ्क्रमणका सक्रिय सङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै जम्मा पाँच राज्यमा रहेको बताइन्छ। महाराष्ट्र, तमिलनाडु, दिल्ली, गुजरात र मध्यप्रदेशमा सर्वाधिक सङ्क्रमित छन्।
साठी प्रतिशतभन्दा धेरै सङ्क्रमित मुम्बई, दिल्ली र अहमदाबादसहित पाँचवटा स्थानमा छन्।
तीन चरणका योजना
- लकडाउन खुकुलो पार्ने भारत सरकारको तीन चरणको योजनाअन्तर्गत :
- किनमेल केन्द्र, मठमन्दिर, होटल, रेस्टुराँ तथा अन्य अतिथिसत्कार सेवाका क्षेत्र ८ जुनबाट खुल्नेछन् (सामाजिक दूरी कायम गर्नका निम्ति मापदण्ड ल्याइनेछ)
- राज्यहरूको परामर्शमा स्कूल तथा कलेजहरू सम्भवतस् जुलाईमा खुल्नेछन्
- लागु हुने मिति नखुलाइएको तेस्रो चरणमा अन्तर्राष्ट्रिय यात्रा, मेट्रो सेवा, सिनेमा खेलकुद तथा व्यायामशाला खोल्न दिइनेछ। तर तत्कालीन अवस्थामा यो निर्भर रहनेछ
- रात्रिकालीन कर्फ्यू लागु नै रहनेछ तर त्यसको समय छोट्ट्याइनेछ ( साँझ ७ देखि बिहान ७ को सट्टा राति ९ देखि बिहान ५ बजेसम्म)
यी उपायहरू धेरै सङ्क्रमण भेटिएका क्षेत्रहरूका लागि भने लागु हुने छैनन्।


















