लण्डन(संयुक्त अधिराज्य), १८ जेठ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म विश्वभर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २८ पुगेको छ । यसमा नेपालमा जीवन गुमाउने ७ जना र नेपाल बाहिर जीवन गुमाउने १ सय २१ जना रहेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलका अनुसार यो साता विदेशमा थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो साता विदेशमा ज्यान गुमाउनेमा बहराइनमा दुई जना र युएई , युके, अमेरिका, कुवेत र साउदी अरबमा एक एक जना नेपालीले कोरोना संक्रमणमा परेर जीवन गुमाएका हुन्
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म बेलायतमा सबैभन्दा बढी ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेटस् (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा आठ जना, बहराइनमा तीन जना, कुवेतमा दूई जना, कतार, आयरल्याण्ड, जापान, टर्की , नेदरल्याण्डस् र स्वीडेनमा एक एक जनाको मृत्यु भएको छ ।

संयोजक डा.सापकोटाका अनुसार नेपालमा १ हजार ४ सय १ नेपाली र नेपालबाहिर १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्र्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघले शनिवार विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिनुभयो ।
बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेका थिए ।


















