Prakash Adhikari June 2, 2020

 

वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), २० जेठ(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताउनुभएको छ ।

प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला राष्ट्रपति ट्रम्पले यस्तो बताउनुभएको हो।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु।’

टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल जानुभएको थियो। उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो।

ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो।

विरोध प्रदर्शन
गभर्नरलाई ट्रम्पको आह्वान

ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गर्नुभएको छ।

भिडिओ सम्मेलनमा ट्रम्पले दशकौंमा भएको एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताउनुभएको छ।

यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै न्यूयोर्कमा राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गनुभ।

फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन्।

स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन्।

विरोध प्रदर्शन
फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन्

अक्सिजनको कमीले जोर्जको मृत्यु

फ्लोइडको हत्या अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।

परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले फ्लोइडको निधन मिनियापोलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन्।

उक्त परीक्षणमा देखिएको कुरा प्रारम्भिक रुपमा देशका स्वास्थ्य परीक्षकले पत्ता लगाएका कारणभन्दा फरक देखिएको छ।

पहिला गरिएको परीक्षणमा ूअक्सिजनको कमी वा घाँटी दबाएका कारणू भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो।

सरकारी ती अधिकारीले फ्लोइडको हत्या हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य अवस्था कारण रहेको पनि बताएका थिए।

तर फ्लोइडको परिवारले राखेका दुई चिकित्सकले भने मृत्यु नभइ हत्या भएको पत्ता लागेको कानुनी टोलीले विज्ञप्तिमा जनाएको छ।

फ्लोइडको हत्याको घटनाले अमेरिकाभर अशान्त अवस्था बनाएको छ।

फ्लोइडको हत्याको घटनाले अमेरिकाभर अशान्त अवस्था बनाएको छ।

न्यूयोर्कका पूर्व परीक्षक डाक्टर माइकल बाडेनले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मेरो विचारमा हत्याको कारण घाँटीमा दबाइएकाले भएको हो ( त्यसले अक्सिजनलाई दिमागमा जान रोक्छ ) र ढाडमा दबाउँदा सास फेर्न गाह्रो हुन्छ।’

एक साताअघि देखापरेको भिडिओमा एकजना श्वेत प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर रुपमा घुँडाले थिचिरहेको देखिन्छ। उक्त घटनाले देशभर अशान्त अवस्था बनाएको छ।

अमेरिकाका विभिन्न सहरमा छैठौँ दिन पनि प्रदर्शनहरू भइरहेका छन् र दशकौँमा यो स्तरमा अशान्ति नदेखिएको बताइएको छ।

चिकित्सक बाडेनले फ्लोइडको मृत्यु हुनेगरी अन्य कुनै खालको स्वास्थ्य समस्या नरहेको पनि बताए।

फ्लोइडको परिवारका वकिलले मानिसलाई नियन्त्रणमा लिने तरिकामा सुधार गरेको भए फ्लोइडको जीवन बचाउन सकिने भन्दै त्यसका लागि मिनियापलिसको प्रहरी कार्यालयलाई आरोप लगाएका छन्।

Share Now

Leave a comment.