Prakash Adhikari June 9, 2020

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको नियन्त्रण, रोकथाम र संक्रमित नेपालीको स्वास्थ्योपचारमा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिको बैठकले यो निष्कर्ष निकालेको हो ।
२०७६ साल माघ ९ गते नेपालमा कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परेकोमा रोकथाम र नियन्त्रणको उपयुक्त र प्रभावकारी उपायहरु अबलम्बन गर्नुको सट्टा संकटलाई आर्थिक अनियमितता र भ्रष्टाचार गर्ने अवसरको रुपमा दुरुपयोग गर्न खोजिएकोले १४ जना नेपालीले आफ्नो देशमा मृत्यु वरण गर्नुपरेको र ३ हजार ७ सय ६२ जना संक्रमित हुनुपरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सरकारले प्रवासमा रहेका नेपालीहरुलाई यस घातक रोगबाट बच्ने चेतना फैलाउन र स्वास्थ्योपचारको समन्वय गराउन नसक्दा नेपाल बाहिर बेलायत, अमेरिका, यूएई, बहाराईन, कुवेत, कतार, आयरलैण्ड, जापान, टर्की, निदरलैण्ड र स्वीडेन लगायत देशमा १ सय २५ नेपालीको मृत्यु हुनाको साथै १४ हजार ४ सय ५४ जना संक्रमित भएको पनि जनाएको छ।

पार्टीको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, समग्रमा नेपाल सरकार कोभिड १९ को जोखिमपूर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्षम हुन सकेको छैन ।

मुलुकमा विशेष विपद्को अवस्थामा नै जनतालाई सरकारको बढी आवश्यकता अनुभूति भएको बेला सरकार जनताको अभिवाभकका रुपमा प्रस्तुत हुन नसक्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै कांग्रेसले सरकारमाथि कामका लागि भन्दा नामका लागि लागेको आरोप लगाएको छ ।

अझ राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरीदमा अनियमितता तथा भ्रष्टाचारमा लिप्त भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ ।
कांग्रेसले भनेको छ प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ, सुझाव र दबाबका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएकोे यो बैठक ठहर गर्दछ ।

कांग्रेसले कोरोना महामारीको नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा सरकारले देखाएको गैर जिम्मेवारीपन, अर्कमण्यता, असक्षमता र भ्रष्ट आचरणको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुने निर्णय पनि गरेको छ ।

कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाली कांग्रेसले पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय पनि गरेको छ ।

कांग्रेसले कोभिड १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ ।

नेपाली कांग्रेसले कोभिड १९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्वाट जोगाउन १२ बुँदे सुझाव पनि दिएको छ । काग्रेसले दिएको तत्काल गर्नुपर्ने कामको सूचीमा उल्लेख गरिएको छ :

(क) २०७७/०२/२० गते कोभिड १९ को परिक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिका संशोधन गरी आरटी–पिसीआर परिक्षण गर्नु पर्नेको दायारा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् । पिसिआर परिक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।

(ख) कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस् ।

(ग) क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा क्वारेन्टाइन संचालन गरी प्रत्येक क्वारेन्टाइन स्थलमा पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्वारेन्टाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत सुनिश्चित गरियोस् ।

(घ) कोभिड १९ बाहेक अन्य रोगका सम्बन्धमा खोप, औषधी, प्रतिरोधात्मक, उपचारात्मक सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि आवश्यक कार्य गर्न सरकारसँग माग गर्दछ ।

(ङ) राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार भइरहनु निर्लज्ताको पराकाष्ठा हो । कोभिड १९ नियन्त्रण गर्न काम गर्न नसकेको सरकार यस कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । नेपाली कांग्रेसको यो बैठक त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गर्दछ । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यस सम्बन्धमा पनि तत्काल सार्वजनिक रुपमा जानकारी गराउन सरकारसँग माग गर्दछ ।

(च) राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस् । राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस् ।
(छ) अहिले पनि विभिन्न देशमा नेपाली दिदिबहिनी—दाजुभाइहरु बिचल्लीमा परेका छन । गर्भावस्था लगायतका शारीरिक अवस्थाका कारणले पनि धेरै मानिस समस्यामा छन् । सरकारले तिनलाई घर फर्काउन गरेको काम अपर्याप्त छ । विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस् ।

(ज) नेपाल नफर्केर विदेशमै बसिरहेका नागरिकहरु प्रतिको जिम्मेवारी पनि सरकारले पूरा गर्नु पर्छ । कैयन विद्यार्थीहरु अलपत्र परेका छन् । उपचार गर्न, परिवार भेट्न गएकाहरु अलपत्र परेका छन्, कैयनले रोजगारी गुमाएका छन् । विदेशमा रहेका आफ्ना नागरिकहरुप्रति यथेष्ट ध्यान पु¥याइयोस् ।

(झ) खाडी मुलुक लगायतका विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस् ।

(ञ) नेपाल र नेपाल बाहिर भएको लकडाउन र त्यसको परिणाम स्वरुप लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ । अर्थतन्त्रलाई चलायमान गर्न उद्योग व्यवसाय र कृषिसँग जोडिएका क्षेत्रहरुमा ठोस राहत र सहयोग घोषणा गर्न सरकारसँग माग गर्दछ ।

(ट) औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वः व्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको अवस्थामा तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज ल्याउन माग गर्दछ ।

(ठ) जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउन माग गर्दछ ।

सीमित स्रोत र साधनका वावजुद महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार र स्थानीय तहका जनप्रतिनिधिहरुको उच्च प्रशंसा गर्दै नेपाली कांग्रेसले सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

नेपाली कांग्रेसले प्रारम्भ देखिनै कोभिड १९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्वाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपाय बारे सुक्ष्म रुपले अध्ययन र विश्लेषण गरि नेपाल र नेपालीलाई यस घातक रोगको संक्रमणबाट जोगाउन निरन्तर सुझाव दिएको पनि दाबी गरेको छ ।

कांग्रेसले सरकारलाई पटक–पटक स्वास्थकर्मी, सुरक्षाकर्मी र सरफाईकर्मीको व्यक्तिगत सुरक्षाका सामग्री, परिक्षण गर्ने र प्रयोगशाला स्थापना गर्ने सामग्री समयमा आपूर्ति गर्न, कोभिड १९ को परिक्षणको दायरा बढाउन, मजदूर, विद्यार्थी, विपन्न वर्ग, अपांग, एकल महिला लगायत समस्यामा रहेका मानिसलाई राहत उपलब्ध गराउन, विदेशमा रहेका नेपालीलाई सुरक्षित र इज्जत साथ देश भित्र ल्याउन, क्वारेन्टाईनको सुरक्षित ढंगले उचित व्यवस्थापन गर्न, आरडीटी परिक्षण बन्द गरी पिसिआरबाट मात्र परिक्षण गर्न र प्रयोगशाला एवं अस्पतालको क्षमता बृद्धि गर्न, कोभिड १९ का कारण देशको उद्योग, व्यापार, व्यवसाय, रोजगारीमा पर्ने प्रतिकूल प्रभाव न्यूनिकरणका लागि आर्थिक प्याकेज घोषणा गर्न, निरन्तर सुझाव दिएको जनाएको छ ।

यसरी नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यमको खबरदारी, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा नेपाल र नेपालीले अनपेक्षित क्षति ब्यहोर्न परेको उल्ल्ेख गर्दै सरकारको कार्यशैलीमा देखिएका कमजोरीलाई पुनः यसरी उजागर गरेको छ :

१) सरकारले मिति २०७७।०२।२० गते कोभिड १९ बारे राष्ट्रिय परिक्षण निर्देशिका जारी गरी पोजिटिभ केसहरुलाई लक्षणबिहिन भएको तीन दिन र जम्मा १४ दिनको भर्ना, आईसोलेसनपछि टेष्टनै नगरि डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको छ । परिक्षण किटको व्यवस्था र प्रयोगशालाको क्षमता बृद्धि गर्न नसक्ने तर पोजिटीभलाई अन्तिम परिक्षण नै नगरि घर पठाउने काम गर्नु सरकारको जनताका स्वास्थ प्रतिको असंवेदनशीलताको पराकाष्ठा हो । यस कार्यलाई यो बैठकले सरकार आफ्नो कर्तव्यवाट च्यूत हुदै जनतालाई कोभिड १९ संक्रमणको भयावह अवस्थामा पुग्ने नीति तर्फ अग्रसर भएको रुपमा लिएको छ । जनतालाई कोभिड १९ संक्रमणको भयावह अवस्थामा पु¥याउने अपराधकर्म तर्फ अग्रसर भएको रुपमा लिएको छ ।

२) प्रयोगशाला अत्यन्त अपर्याप्त छन्, फलस्वरुप क्वारेन्टाइनमा दिनानुदिन मानिसको संख्या बढिरहेको छ तर प्रयोगशालाको अभावमा प्रशिक्षण गति शून्य छ । फलतः संक्रमित मानिसहरु कति छन् भन्ने जानकारी नै हुन सकेको छैन । लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखी ढिलो गरी परिक्षण गर्ने कामले सही परिणाम नआउने खतरा छ । सरकारले अहिलेसम्म पनि प्रयोगशालाको संख्या र क्षमता बृद्धि गर्न सकेको छैन ।

३) सरकारले विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने ¥यापिड टेस्ट अहिलेसम्म गरिरहेको छ । पिसिआर विधिवाट अत्यन्त न्यून (जम्मा ०.३२ प्रतिशत मात्र) परिक्षण भएको छ । परिक्षणको ब्यापकता बढाउन सरकार अक्षम भएको छ ।

४) देशभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित छन । एउटै विद्यालयमा क्षमता भन्दा धेरै बढी मानिसहरु राखिएका छन् । क्वारेनटाईनमा शुद्ध पिउने पानी, भोजन, शौचालय, नुहाउने व्यवस्था लगायत न्यूनतम आवश्यकताको पनि समुचित व्यवस्थापन भएको छैन । क्वारेन्टाईनबाटनै संक्रमण फैलिने खतरा देखा परेको छ । विभिन्न क्वारेन्टाईनमा नै मानिसहरुको मृत्यु भएको छ । मृत्युपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परिक्षणको दयनीय अवस्थालाई उजागर गरेको छ । दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ भएको घोषणाले सरकारको संवेदनशिलता र कार्य क्षमतामा प्रश्न उठेको छ । यसले कोभिडको महामारीले प्रताडित जनता झन दुःखी भएका छन । परिक्षण सामग्रीको अभाव र प्रयोगशालाको कमीले हाल धेरै ठाउँमा क्वारेन्टाईनमा राखेको मानिसको स्वाव संकलन गर्न समेत रोकेको अवस्था छ । क्यारेन्टाइनमा संकलन गरिएका स्वावको दशौं दिनसम्म पनि परिक्षण हुन सकेको छैन । क्वारेन्टाईनमा बसेको मानिस, उनको परिवारजन र सम्पूर्ण समाज नै त्रसित भएको छ । यसले सरकारको अकर्मण्यतालाई देखाएको छ ।

५) यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान दिएन । संक्रमितहरुलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना हुँदैछ । कोभिड १९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मृगौला, चोट पटक लाग्ने लगायतका विभिन्न विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सकेको छैन । गर्भावस्थामा रहेका महिलाहरुको स्थिति झन् चिन्ताजनक छ । सरकारी अस्पतालहरु यसमा सक्षम देखिएका छैनन् । निजी क्षेत्रका अस्पतालहरुलाई पनि सरकारले उचित समन्वय गरी सबै प्रकारका विरामीहरुलाई स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउन सकेको छैन ।

६)स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेका छन् । उनीहरुको व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध छैन । सरकारसँग कामका लागि प्रोत्साहित गर्ने कुनै नीति, योजना छैन । स्वास्थकर्मीको बिमा गर्ने घोषणा गरेको पनि कार्यान्वयन भएको छैन । यसरी जोखिम उठाएर काम गरिरहेका पेशा व्यवसायका मानिसहरु बारे सरकारका नीतिहरु मौन छन ।

७) कुवेत तथा खाडीका मुलुक लगायतका विभिन्न देशमा नेपाली दिदीबहिनी–दाजुभाइहरु विचल्लीमा परेका छन् । विभिन्न देशमा गर्भावस्थामा रहेका नेपाली दिदी–बहिनीहरुको थप पिडा छ । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन् । विदेशमा रहेका मानिसहरुलाई घर फर्काउने क्रममा बढी समस्या र जोखिममा रहेकालाई प्राथमिकताका आधारमा उद्धार गर्नु पर्नेमा सत्ता पक्षीय राजनीतिक भनसुनका आधारमा मानिसलाई उद्धार गर्ने प्रयत्न भैरहेको देखिएको छ । सरकारले उच्च मानवीय भावनाका साथ उद्धारको कार्य गर्न पर्नेमा असफल भएको छ ।
८) राहत पाउनु पर्ने सबै मानिसहरुलाई आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहत वितरण गर्नु पर्नेमा सत्ता पक्षीय राजनीतिक दवावका आधारमा राहत वितरण गर्ने गरी राहतमा राजनीति भइरहेको छ । एकद्वार प्रणालीका नाममा राहत वितरणमा व्यापक भेद्भाव र दुरुपयोग गरिएको छ ।

९) लकडाउनका कारण देशको आर्थिक जीवन अस्तव्यस्त भएको छ । उद्योग, पर्यटन, यातायात तथा अन्य सेवासँग जोडिएका हजारौं उद्योग व्यवसाय ठप्प भएका छन् भने त्यसमा कार्यरत लाखौं श्रमिकहरु र साना उद्यमी व्यवसायीहरु समेत वेरोजगार भएका छन् । विदेशबाट समेत लाखौं नेपालीहरु वेरोजगारीका कारण फर्किदै छन् । त्यसले लाखौं नागरिकहरुको आर्थिक अवस्था नाजुक भएको छ । यस्तो अवस्थामा यी उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई समेत चलाएमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर नभएको हाम्रो ठहर छ ।

कोरोना महामारीको निवारण र नियन्त्रणको सन्दर्भमा सरकारको यति दिनको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा नदेखिएको यो बैठक ठहर गर्दछ । यस पीडादायी अवस्थामा नेपाली कांग्रेस पूर्ण रुपले नेपाली जनताको साथमा रहेको छ ।

Share Now

Leave a comment.