काठमाडौं, २८ जेठ । कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले संसद्लाई जानकारी दिनुभएको छ।
सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै प्रधानमन्त्री ओलीले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने बताउनुभयो।
ूनिजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ,ूप्रधानमन्त्री ओलीले भन्नुभयो।
लामो समयदेखि लकडाउन हुँदा जनजीवन कष्टकर भएको भन्दै खासगरी निजी क्षेत्रले त्यसको सुरक्षित विधि परिवर्तन गर्न माग गरिरहेका थिए।
८५ प्रतिशत सङ्क्रमित भारतबाट
संसद्मा जानकारी दिँदै प्रधानमन्त्री केपी ओलीले नेपालमा भेटिएका समग्र सङ्क्रमितमध्ये ८५ प्रतिशतभन्दा धेरै भारतबाट आएका व्यक्ति भएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले वैशाखको पहिलो सातादेखि भारतबाट नेपालीहरू भित्रिन थालेको र वैशाखमा साढे सात हजार अनि जेठमा हालसम्म सवा दुई लाख मानिस भित्रिएको बताउनुभयो।
उहाँले हाल नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाएका १५ जनामध्ये धेरैलाई अन्य स्वास्थ्य समस्या पनि रहेको बताउनुभयो।

उनले हालसम्म नेपालीहरूको प्रतिरोधी क्षमता राम्रो देखिएको र मृत्युदर पनि अन्यत्रको तुलनामा कम देखिएको बताउनुभयो।
नक्सासम्बन्धी राष्ट्रिय एकताको प्रशंसा
प्रधानमन्त्री केपी ओलीले नक्सासम्बन्धी संसद्ले देखाएको एकताको प्रशंसा गर्नुभएको छ।
भारतसँग चर्किएको सीमा विवादका बीच नेपालको नयाँ नक्साबारे देशभित्र राष्ट्रिय एकता देखिएको भन्दै प्रधानमन्त्री केपी ओलीले त्यसको प्रशंसा गर्नुभयो।
प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा भूमिको सवाल साझा सवाल रहेको बताउनुभयो।
‘यो कसैले जस लिने विषय होइन’, उहाँले भन्नुभयो।
संसद्ले सर्वसम्मत ढङ्गले नक्साबारे निर्णय गरेकाले यसको जस सबैको हुने उहाँको सङ्केत थियो।
संसद्ले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक छलफलकालागि मङ्गलवार सर्वसम्मत स्वीकार गरेको थियो।(बीबीसीबाट)


















