Prakash Adhikari June 10, 2020

कृष्णमाया उपाध्याय / बीबीसी न्यूज नेपाली

खलंगा(जुम्ला), २८ जेठ । कर्णाली नदीमा एउटा ट्रिपर खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले दिएको जानकारी अनुसार दुर्घटनापछि नदीमा बेपत्ता भएकामध्ये २२ जनालाई जीवितै उद्धार गरिएको र १२ घाइतेलाई अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म दुई जना हराइरहेका र दुई जनाको शव फेला परेको छ।

घाइतेमध्ये दुई जना गम्भीर अवस्थामा भएकाले उपचारका लागि काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी गैरैले बताउनुभयो।

गम्भीर घाइते भएकी २० वर्षीया महिलाका तीनमहिने शिशुलाई केही नभएको जिल्ला अस्पतालमा कार्यरत डा. कटक महतले बताउनुभएको छ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट काठमाडौं पठाउने योजनामा स्थानीय प्रशासन छ।

अधिकांश भारतबाट फर्किएका

उक्त टिपरमा चढेकामध्ये अधिकांश व्यक्ति भारतबाट घर फर्किएका मानिसहरू भएको र उनीहरूलाई जितेबाट रासकोटतिर क्वारन्टाइनमा राख्न लगिँदै गरेको बुझिएको छ।

तर यात्रुको कुल सङ्ख्या ३८ कि ३९ भन्ने स्पष्ट हुन नसकेको प्रशासनले जनएाको छ।

उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ।

भारतमा कार्यरत नेपालीहरू अहिले घर फर्किने क्रम बढेको छ।

कर्णाली प्रदेशमा अहिले भारतबाट फर्किएका हजारौँ मानिसहरू क्वारन्टाइनमा छन्।

बीच बाटोबाट पनि चढेका थिए यात्री

नदीबाट पौडी खेलेर आफ्नो ज्यान जोगाएकी एक महिलाका अनुसार उक्त टिपरमा उनीसहित अरू केही मानिस बीच बाटोबाट चढेका थिए।

पहिला कोरोनाभाइरस सर्ने डरले आफूहरू चढ्न नमानेको भए पनि चालकले केही हुँदै भनेर गाडी चढाएको र धेरै मानिस भएकाले दुर्घटना भएको उनको भनाइ छ।

‘मेरा फुपू, देउरानी र उनकी छोरी (कर्णालीमै) हराए’,कालीकोटको रासकोट नगरपालिका घर भएकी ३५ वर्षीय मनिता सार्कीले भनिन्।

‘उनीहरू अहिलेसम्म भेटिएका छैनन्। म पानीमा खसेकी हुनाले पौडी खेलेर बाँच्न सफल भएँ। नदीको छेउमा खसेकाहरूलाई धेरै चोट लागेको छ। मलाई अलिकति मात्र खुट्टामा चोट लागेको छ’ उनले भनिन्,’मसँगै आएकाहरू छेउमा परेर धेरै चोट लाग्दा तत्काल उद्धार नभएपछि मर्नुपरेकोले दुस्ख लागेको छ ।’

उनका अनुसार गाडीमा पाँच महिला र अरू बालबालिका पनि थिए।

Share Now

Leave a comment.