Prakash Adhikari June 10, 2020

काठमाडौं, २८ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालत परेको मुद्दा जितेको छ। यसबाट बैंकले झण्डै आशा मारिसकेको करिब २ अर्ब ५ करोड रुपैया फिर्ता पाउने भएको छ ।

तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसी(कोअपरेटिभ मुराटोस्टी इ सिमेन्टेस्टी)लाई दिइएको काउन्टर बैंक ग्यारेन्टी सम्बन्धी मुद्दामा इन्भेष्टमेन्ट बैंकको जित भएको हो।

बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार सीएमसीले कार्य सम्पादनका लागि ग्यारेन्टी दिएको थियो। उक्त कम्पनीको वित्तीय अवस्था खराब भएर नियोक्ता र ठेकेदार कम्पनीबीच ठेक्का तोड्ने सहमति भएपछि उसलाई कामको लागि काउण्टर ग्यारेन्टी दिएको इन्भेष्टमेण्ट बैंक र सीएमसीबीचको लेनदेनको विवाद अदालतसम्म पुगेको थियो।

इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डेले दिनुभएको जानकारी अनुसार सीएमसीले हालेको यो मुद्दामा पहिला एक जना न्यायाधीश रहने एकल इजलासले बैंक विपक्षमा फैसला गरेको थियो।
बैंकले उक्त फैसलामा चित्त नबुझाएर पुनरावलोकनको लागि अपिल गरेको थियो। पछि ३ जना न्यायाधीशको पूर्ण इजलासले बैंकको पक्षमा फैसला गरेको छ।

सो फैसला अनुसार बैंकले ८५ करोड १४ लाख १६ हजार १२७ नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार यूरो गरी कुल २ अर्ब ५ करोड रुपैयाँ फिर्ता पाउनेछ।

Share Now

Leave a comment.