Prakash Adhikari June 12, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ३० जेठ । नेपाल संयुक्त राष्ट्र संघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलोपटक निर्वाचित भएको छ।

न्युयोर्कस्थित नेपाली नियोगका अनुसार यो पदमा पहिलोपटक नेपालका तर्फबाट अमृत राई सर्वसम्मतिले निर्वाचित हुनुभएको हो । राई राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि हुनुहुन्छ।

महासभामा ६ वटा मुख्य कमिटी हुन्छन् । यी मध्ये आर्थिक तथा वित्तीय कमिटी दोस्रो कमिटी भन्ने गरिन्छ। पहिलो कमिटीमा निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा, तेस्रोमा सामाजिक, मानवियता तथा सांस्कृतिक, चौथोमा विशेष राजनीति तथा गैर औपनिवेशीकरण, पाँचौमा प्रशासनिक तथा बजेट र छैटौंमा कानून कमिटी हुन्छन्।

राई अध्यक्षमा निर्वाचित भएको कमिटीले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन, प्रकोप साथै अल्पविकसित देशले सामना गरेको समस्या हेर्ने गर्छ।

यो महत्वपूर्ण समितिको अध्यक्षमा निर्वाचित भएपछि न्यूयोर्कस्थित स्थायी नियोगले प्रकाशित गरेको विज्ञप्तिमाा ‘राष्ट्र संघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर हो’ भनिएको छ।

नेपालले राईलाई अध्यक्षमा निर्वाचित गरी अनुमोदन गर्ने एसिया प्रशान्त समूह र नेपालप्रति विश्वास व्यक्त गर्ने राष्ट्रहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

Share Now

Leave a comment.