मुसिकोट(रुकुम), १ आषाढ । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते नवराज वि.क.सहित ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा हालेको मुद्दामा आजदेखि बहस हुने भएको छ।
पीडितका पक्षमा बहस गर्न रुकुम पुग्नुभएका अधिवक्ता रामचन्द्र गौतमका अनुसार सोमबारदेखि नै बयान सुरु हुने जानकारी दिनुभएको छ ।
प्रहरी अनुसन्धानको रिपोर्टपछि जिल्ला महान्यायाधिवक्ता कार्यालयले चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता गरेको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार मुद्दामा अभियुक्तहरूलाई आजन्म कैदको माग गरिएको छ ।
३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्।
नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।
प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय हुन्छ।
चौरजहारी काण्डका संलग्नलाई कारबाहीको माग गर्दै आइतबार प्रदर्शन भएको छ। जाजरकोट र रुकुम पश्चिमका झन्डै एक सयको संख्यामा भेला भएका सर्वसाधारणले दोषीमाथि आजीवन कारावासको माग गर्दै अदालतको गेट बाहिर प्रदर्शन गरेका हुन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक रुकुम पश्चिमको चौरजहारी ठकुरी परिवारकी प्रेमिका लिन टोलीसहित गाँउमा पुगेका थिए। आफ्नी प्रेमिकालाई दुलहीको रुपमा घरमा भित्र्याउने तयारीसाथ चौरजहारी पुगेका नवराज वि.क. र उनका अन्य साथीहरुलाई केटी पक्षका गाँउलेहरुले निर्ममतापूर्वक कुटपीट गरेका थिए ।
ती मध्ये ६ जनाको लाश भेरी नदीमा पाइएको थियो ।
प्रहरीले ‘पोष्टमार्टमको रिपोर्ट र आफ्नो अनुसन्धानको आधारमा जेठ १० गते साँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई निर्ममतापूर्वक कुटपीट गरी बेहोस् बनाएर भेरी नदीमा फालेको ठहर गरेको छ ।
केटीकी आमाको प्रतिरोध र छिमेकीको विरोधको छनक पाएपछि फर्किएका उनीहरु झण्डै आधा घण्टा हिडेर उम्केको ठानी एक घरमा पानी खान बसेको बेला उनीहरुको पिछा गर्दै आएका केटी पक्षका गाँउलेहरुले घेराबन्दीमा पारी कुुटपीट गरेका थिए । अरु साथीहरु उम्कन सफल भएपनि नवराज वि.क.सहित ६ जनालाई पक्रेका गाँउलेहरुले निर्ममतापूर्वक पिटेर भेरी नदीमा फालेका थिए ।
१८ मध्ये १२ जना सम्पर्कमा आए पनि ६ जना भेरी नदीमा बेपत्ता भएका थिए। ३ जना सोही दिन र अन्य तीन जनाको शव फरक–फरक मितिमा फेला परेको थियो।
भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटना भएकै दिन नदीमा फेला परेको थियो भने भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोबिन्द शाहीको शव पछि फेला परेको थियो।
घटनाको अनुसन्धानमा केन्द्रीय प्रहरी इकाईको कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि त्यहाँ पुगेको थियो।