Prakash Adhikari June 15, 2020

 

काठमाडौं, १ आषाढ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणमा पर्ने बिरामीको संख्या नेपालमा पनि ६ हजार माथि पुगेको छ । विगत २४ घण्टामा थप ४ सय ५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंग कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार संक्रमितको संख्यामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ।

कुल सङ्क्रमितमध्ये १,०४१ जना निको भई अस्पतालबाट बिदा भएका र १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ विस्तार भएको पुष्टि भएको छ।

यसअघि सरकारले गत साता शुक्रवार सर्वाधिक सङ्ख्या अर्थात् ४ सय ४८ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।

त्यसैगरी शनिवार र आइतवार क्रमशः दुई जनाको मृत्यु तथा २ सय ७३ जनामा सङ्क्रमण र एक जनाको मृत्यु र ४ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण
१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम

स्रोत :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

के छ अरू तथ्याङ्क ?
प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ५ हजार ३ सय ६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख ३८ हजार ६ सय ८३ पुगेको छ।

अहिले देशभरि १लाख ३३ हजार भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।

तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

पोखरामा थप एक प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण सुरु भएको जानकारी डा. गौतमले दिनुभएको छ।

योसँगै देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुन थालेको छ।

को हुन् सङ्क्रमित ?

सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

उनीहरू विभिन्न उमेर समूहका भए पनि युवा र पुरुषको बाहुल्य छ।

रौतहटका १०२, दैलेखका ९३, दाङका ४३, महोत्तरीका ३०, सर्लाही २३ र मोरङ २२ र सुर्खेतका १९ जना भएको मन्त्रालयले जनाएको छ।

दैलेखमा कोरोनाभाइरस पुष्टि भएका व्यक्तिहरू दुईवर्षे बालकदेखि ५४ वर्षसम्मका भएको उक्त प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


असार १ गते आइतवार अपराह्ण ४ :00 बजेसम्मको तथ्याङ्क

coronavirus test

६,२११ कुल सङ्क्रमण

७३ प्रभावित जिल्ला

विगत २४ घण्टामा पीसीआर परीक्षण ५,३०६

चिकित्सकीय निगरानीमा अलग्गै ५,१५१

देशभरि क्वारन्टीनमा १,३३,८२९

अहिलेसम्म निको १,०४१


स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये तीन जना स्वास्थ्यकर्मी भएको नारायणी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका छन्।

पर्साको ग्रामीण भेगको विभिन्न क्वारेन्टाइनमा बस्दै आएका १८ जनाको जेठ २६ गते स्वाब सङ्कलन गरिएको थियो।

तीमध्ये १० जनामा कोरोनाभाइरस पुष्टि भएको पर्सास्थित बीबीसी संवाददाता माधुरी महतोले अधिकारीहरूलाई उद्धृत गर्दै बताउनुभएको छ।

महतोका अनुसार कोरोनाभाइरस देखिएकामध्ये छ जना भारतबाट फर्किएर क्वारन्टीन बसेका व्यक्ति भएको बुझिएको छ।

त्यसैगरी काठमाडौं उपत्यकामा पाँच जनामा पनि सङ्क्रमण देखिएको छ।

Share Now

Leave a comment.