लण्डन(संयुक्त अधिराज्य), ३ आषाढ(बीबीसी) । एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधीले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्।
कम मात्रामा दिइने उक्त स्टेरोइड औषधीलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धि मानिएको छ।
यसले भेन्टिलेटरमा राखिएका बिरामी आठमा एक जना(साढे १२ प्रतिशत) र अक्सिजन दिइएका २५ मा एक जना(४ प्रतिशत)को जीवन जोगाउने देखिएको छ।
कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधी पनि एउटा हिस्सा रहेको थियो।
This is the most important trial result for COVID-19 so far. Significiant reduction in mortality in those requiring oxygen or ventilation from a widely available, safe and well known drug. Many thanks to those who took part and made it happen. It will save lives around the world. https://t.co/zRIaHulHOe
— Professor Chris Whitty (@CMO_England) June 16, 2020
अनुसन्धानकर्ताहरूले यदी उक्त औषधी सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्।
यो औषधीको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभि १९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।
पुरानो औषधी
बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्स भन्नुहुन्छ, मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधी नयाँ होइन र यो खासै महँगो छैन। पुरानो र सस्तो खालको स्टेरोइड हो।
उहाँ भन्नुहुन्छ यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन्।
त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ।
डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ।
गरिब देशलाई लाभ
कोभिड १९ को सङ्क्रमण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धि मानिएको छ।
सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ।
अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड १९ का बिरामीहरूलाई फाइदा पुर्याउने देखिएको छ।
त्यसले कोभिड १९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन।
त्यसमाथि डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो।


















