बेइजिड.(चीन), ५ आषाढ(बीबीसी) । भारत र चीनको सीमामा रहेको लद्दाख निकटको गलवान उपत्यकामा दुवै देशका सीमा रक्षक सैनिकबीच भएको हिंसात्मक भिडन्तमा कुनै पनि भारतीय सैनिकलाई कब्जामा नलिइएको चीनले बताएको छ।
बिहीवार चीनले १० जना भारतीय सैनिकहरूलाई मुक्त गरेको भन्ने भारतीय सञ्चारमाध्यमहरूमा आएका समाचारको खण्डन गर्दै चीनको त्यस्तो भनाइ आएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रवार बोल्दै भन्नुभएको छ,’चीनले कुनै पनि भारतीय सैनिकलाई कब्जामा लिएको छैन।’
भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार विवरणहरूले एकजना लेफ्टिनेन्ट कर्नेल र तीनजना मेजर सहित १० जना भारतीय सैनिकहरूलाई चिनियाँहरूले मुक्त गरेका भन्ने जनाएका थिए।

भारत सरकारले आफ्ना कोही पनि सैनिक बेपत्ता नरहेको बताउँदै आएको छ।
यस्ता परस्पर विरोधी समाचार विवरणहरू सोमवार गलवान उपत्यकाको सीमावर्ती क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरूबीच भएको विवादका क्रममा वास्तवमा के भएको थियो भन्ने विषयमा जारी अन्योलको पछिल्लो कडी हुन्।
उक्त भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो र कम्तीमा ७६ जना भारतीय सैनिकहरू घाइते भएका बताइएको थियो।
चीनले उस्को सेनातर्फ भएको हुनसक्ने हताहतिबारे कुनै सूचना सार्वजनिक गरेको छैन, तर भारतले घटनामा दुवै पक्षलाई क्षति पुगेको बताएको छ।
इन्डिया टुडेका एकजना वरिष्ठ सम्पादक शिव अरुरले बिहिवार ट्वीटरमा भारतीय सैनिकहरूलाई मुक्त गरिएको विवरणहरू सार्वजनिक गर्नुभएको थियो। उहाँका अनुसार ती सैनिकहरूको मुक्तिको विषय नै बुधवार दुवै पक्षबीच भएको वार्ताको मुख्य बुँदा थियो।
भारतीय सैनिकलाई कब्जामा लिइएको भन्ने खबर अस्वीकार गर्दै जारी गरिएको वक्तव्यमा चीन सरकारका प्रवक्ता झाओले भन्नुभएको छ.’ सहि गलत सबै स्पष्ट छ र जिम्मेवारी सम्पूर्ण रूपमा भारतीय पक्षमा नै निहित छ।’
प्रवक्ता झाओले दुवै पक्षबीच कुटनीतिक र सैनिक सम्पर्क माध्यमहरूमार्फत वार्ता भैरहेको बताउनुभयो।

बीबीसीलाई यो तस्बिर भारतीय सेनाको एक उच्च अधिकारीले उपलब्ध गराएका हुन् जुन चिनियाँ सैनिकले भारतीय सैनिकसँगको भिडन्तमा प्रयोग गरेका बताइएको छ
सीमामा कार्यरत एक वरिष्ठ सैन्य अधिकारीले बीबीसीलाई चिनियाँ सैनिकले प्रयोग गरेको भनी उपलब्ध गराएको तस्बिरमा किला टाँसिएका फलामका रडहरू रहेका छन्।
यो तस्बिर पहिलो पटक ट्वीट गरेका रक्षा मामिला विज्ञ अजय शुक्लाले त्यो हतियारको प्रयोगलाई बर्बरता भन्नुभएको छ।
त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।
भारतमा ट्विटरमा उक्त तस्बिरको व्यापक प्रयोग भएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरिरहेका छन्।
त्यसबारेमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।

समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भिडन्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।
सन् १९९६ को सहमतिअनुसार ‘लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्‘‘विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन्।’
तर चीन र भारतबीच आपसी सीमा क्षेत्रमा हालैका हप्ताहरूमा तनावपूर्ण भिडन्तहरू भएका छन्।
मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए।


















