Prakash Adhikari June 20, 2020

 

काठमाडौं, ६ आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालको प्रचलित कानुन अनुसार बिबाहपश्चात अंगीकृत नागरिकता पाउदै आएका विदेशी बुहारीलाई बिबाह भएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिक दिने निर्णय गरेको छ।

आषाढ ६ गते शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हो ।

बैठक पछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नेपाली पुरुषसँग विवाह गर्ने महिलाले अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि ७ वर्ष नेपाल बसेको पुष्टि हुनुका साथे विदेशमा नागरिकता वा अन्य कुनै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पनि पेश गर्ने व्यवस्थासहित अंगीकृत नागरिकता दिने प्रावधान राख्ने सम्बन्धमा पार्टीमा सहमति जुटेको बताउनुभयो ।

तर बिबाहपछिको पारिवारिक र व्यक्तिगत ब्यबहार तथा जीविका सञ्चालनका लागि ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार उपयोग गर्न सक्ने गरी आवासीय परिचयपत्र प्रदान गरिने शर्त पनि सो प्रावधानमा राखिएको छ।

बैठकमा नेपाली चेलीसंग बिबाह गर्ने विदेशी ज्वाईलाई पनि निश्चित शर्तबन्देजका आधारमा नेपाली नागरिकता दिनुपर्ने महिला सांसदहरुको विषय पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो तर बहुमत सदस्यहरुले त्यसलाई अस्वीकार गरे ।

२७५ साउन २२ गते गृहमन्त्रालयले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो । यो विधेयक अहिले समितिमा दफावार छलफल भैरहेको छ । विधेयकमाथिको छलफलमा विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राखिने शर्तबन्देजमा सहमति हुन नसकेपछि नेकपाले सचिवालय बैठकबाट ७ वर्षको प्रावधान राख्ने निर्णय गरेको हो।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले नेपाली नागरिकसंग बैबाहिक सम्बन्ध कायम गरी नेपाली बन्न आउने बुहारीलाइृ सहजतापूर्वक नागरिकता दिन उचित हुने धारणा सार्वजनिक गरेका छन् ।

्रसंघीय संसदमा बिचाराधिन नागरिकतासम्बन्धी विधेयकमा छलफलका लागि प्रधानमन्त्री के.पी. शर्मा ओलीले बोलाउनुभएको बैठकमा सहभागी ्रनेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि नेतृत्वको प्रतिनिधि मण्डलले गत आषाढ ४ गते नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्ने विषयमा पहिले देखिनै नेपालको संविधान र कानूनहरुले गर्दै आएको र हाल प्रचलित कानूनमा विद्यमान व्यवस्थालाईनै निरन्तरता दिन उपयुक्त हुने सुझाव दिएको थियो ।

सो बैठकमा पार्टीका तर्फवाट उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पूर्व महामंन्त्री कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, रमेश लेखक र राधेश्याम अधिकारीको सहभागिता रहेको थियो ।

हालको ऐनमा नेपाली नागरिकसँग बिबाह गरेर आउने बुहारीले सम्बन्धित देशको नागरिकता त्यागेर नेपाली नगारिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन कुनै समय सीमा निर्धारण गरिएको थिएन।

अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको यो विधेयकमा अंगीकृत नागरिकतामा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय माग्नुभएको थियो ।

Share Now

Leave a comment.