Prakash Adhikari January 23, 2018

अल्डरसट,लन्डन(संयुक्त अधिराज्य),९ माघ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष भवन भट्टले यूकेबाट १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।

एनआरएन यूकेको आयोजनामा बेलायतको अल्डरसटमा भएको लगानी सम्बन्धी अन्तरक्रिया कार्यक्रमको अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टले सो घोषणा गरेका हुन् ।

भट्टले कोषको घोषणा गर्दै सो लगानी कोषमा निश्चित अंश वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सुनिश्चित गरिने जनाए ।

लगानी सम्बन्धी कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले नेपालले अब एक डेढ महिनाभित्र नेपालमा २० अर्ब रुपैयां चुक्ता पुंजीको पूर्वाधार बैंक सञ्चालन हुन लागेको बताए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा लगानीको वातावरण भएको बताउँदै त्यसका लागि सबै पक्षले निर्धक्कका साथ लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले नेपालको आर्थिक सम्बृद्धि लागि सबैले आआफनो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बेलायत, बेल्जियम, नेदरल्याण्ड, आयरल्याण्ड, जर्मनी, जापान, डेनमार्क लगायतका देशहरुबाट समेत गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

Share Now

Leave a comment.