Prakash Adhikari June 22, 2020

काठमाडौं, ८ आषाढ । नेपाल पर्यटन बोर्डमा सोमवार दिउँसो १ बजे भएको जुम मिटिड.मा आयोजकहरुको कमजोरीको कारण पर्यटन मन्त्री योगेश भट्टराईको राजनीतिक क्यारियरमा पोर्नो प्रडक्टको दाग लागेको छ ।

नेपाल पर्यटन बोर्डले पर्यटन उद्योगसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न सोमबार भर्चुअल बैठक आयोजना गरेको थियो।

पर्यटन क्षेत्र दुरावस्थामा पुगेको र समग्र पर्यटन क्षेत्रको पुनरुत्थानको लागि आशा लाग्दा कार्यक्रम आउने अपेक्षासहित बैठकमा पर्यटन क्षेत्रमा सक्रिय सबै संघ, संगठनका प्रतिनिधि र प्रतिष्ठित व्यवसायीको सहभागी बनेका थिए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको संयोजकत्वमा भएको यो भर्चुअल बैठकमा नेपाल संस्कृति पर्यटन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा बोर्डका अध्यक्ष तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले आफ्नो मन्तव्य राख्नुभयो ।

त्यसपछि निर्देशिका जारी गरी बैठकमा मन्त्री भट्टराईले आफ्नो मन्तब्य राख्न सुरु गर्नुभयो । उहाँ नेपालमा पर्यटनको संभावना र कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संसारभर भएको यात्रा प्रतिबन्ध र स्वदेशमा लगाइएको लकडाउनका कारण पर्यटन क्षेत्रका लगानीकर्ता, व्यवसायी,मजदूर र विभिन्न तहका व्यवसायी तथा यस उद्योगसंग आबद्ध अन्य सामाजिक तथा आर्थिक क्षेत्रमा परेको असरबारे उहाँ बोल्दै हुनुहुन्थ्यो ।

त्यही बेलामा जुम मिटिड.मा जोडिएका सहभागीहरुको मोवाइल र कम्प्युटरमा अनौठा अश्लिल आवाजहरु सुनिए । केही बेरमै अश्लिल चलचित्र देखिन थाल्यो। र, त्यसमा प्रयोग भएको आवाज पनि।

बैठक चलिररहेको बेला ‘ह्यारिस’ नाम गरेका प्रयोगकर्ताले अश्लिल चलचित्र सार्वजनिक रुपमा राखिदिएपछि यो समस्या आएको थियो । मन्त्री सहभागी भएको कार्यक्रममा अश्लिल भिडियो सार्वजनिक भएपछि सञ्चालकहरुले कार्यक्रमलाई अपर्टझट रोके ।

बोर्डका अध्यक्ष तथा पर्यटन सचिव अधिकारीले आफूले मन्तव्य राखिञ्जेल कुनै समस्या नआएको र आफू सो कार्यक्रमबाट बाहिरिएपछि त्यस्तो समस्या आएको जानकारी पाएको बताउनुभएको छ ।

जुम बैठकमा प्रविधिमा आधारित भिडियो कन्फरेन्स हो । यसको पनि एक जना संयोजक तथा बैठक नियन्त्रण र सञ्चालन गर्ने व्यक्ति हुन्छन् । कसैले आफूखुशी बैठकमा सहभागी हुन पाउदैनन् । एडमिनिस्ट्रेटरको अनुमति चाहिन्छ । एड्मिनिस्ट्रेटरले दिएको परिचय नम्बर र पासवर्ड राखेपछि मात्रै यसमा सहभागी हुन पाइन्छ ।एड्मिनिस्टेडरले यसको भिडियो र अडियो पहुँच नियन्त्रण गर्न सक्दछन् ।

नेपाल पर्यटन बोर्ड नेपालमा सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तरगत स्थापित एक नमूना संस्था हो । यसको बार्षिक बजेट आकर्षक छ । कार्यक्रममा करोड हैन अर्ब रुपिया खर्च गर्दछ । कर्मचारीहरुको तलब सुविधा र स्वदेश तथा विदेश भ्रमण भत्ता आकर्षक छ । यसैले सो संस्थामा सूचना प्रविधि विभाग र सूचना प्रविधि अधिकृत नरहने भन्ने संभावना रहदैन । यदि दरबन्दी नभएको भए करारमा वा पटके कामको आधारमा हायर गरेर लिन सक्ने स्वयत्तता र क्षमता दुवै पनि बोर्डमा निहित छ ।

आफ्नो विभागीय मन्त्री र देश तथा विदेशका प्रतिष्ठित ब्यवसायी तथा विज्ञहरु सहभागी हुने बैठकमा पर्याप्त प्राविधिक सुरक्षा अपनाउन नसक्नु नेपाल पर्यटन बोर्डको ठूलो कमजोरी मानिएको छ ।

बैठकमा नेपाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सचिव केदार बहादुर अधिकारी, बोर्डका सिइओ रेग्मी लगायत विभिन्न क्षेत्रका २ सय जना सहभागी भएको बताइएको छ।

यति महत्वपूर्ण कार्यक्रममा आवश्यक सुरक्षा प्रविधि किन अपनाइएन र पर्यटन मन्त्रीको छविमा समेत आँच आउने गरी ह्याकर प्रवेश गर्यो भनेर आयोजकहरु पानीमाथिको ओभानो बन्न खोजेको देखिएको छ ।

सामान्यत भर्चुअल बैठकमा यसका बारेमा चासो नहुने व्यक्ति सहभागी नै हुँदैन । ह्याकर भनिए पनि पर्यटन जस्तो ब्यापक दायरा भएको क्षेत्रको बैठकमा जुम मिटिड.को आईडी र पासवर्ड पाएकै व्यक्तिबाट प्राविधिक त्रुटीबस कम्प्युटरमा अन्य काम गर्न खोज्दा सो भिडियो सार्वजनिक भएको पनि हुन सक्ने संभावना पनि त्यतिकै छ ।

बोर्डले अश्लिल भिडियो सार्वजनिक गर्ने प्रयोगकर्ताको खोजी सुरु गर्न गरिसकिएको जनाएको छ ।

यसलाई आधार बनाएर बोर्डमा ठूलै पजनी हुन सक्ने जोखिम पनि छ ।

लकडाउन सुरु भएदेखि शैक्षिक, कर्पोरेट लगायत विभिन्न क्षेत्रमा अधिक प्रयोगमा आइरहेको जुम एप प्रयोगमा पर्याप्त सावधानी अपनाउनु पर्ने देखिएको छ।

Share Now

Leave a comment.