काठमाडौं, ११ आषाढ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्म दिवसको पूर्वसन्ध्यामा एक सन्देश दिंदै गणतन्त्रका शासकहरुसंग जनतामा देखिएको असन्तोष र निराशाका बारेमा कैंयौ प्रश्न उठाउनुभएको छ ।
पूर्व राजाले आम नेपालीको तर्फबाट प्रश्न उठाउदै सोध्नुभएको छ,’हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सूरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनौं उठिरहन्छ ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ?’
राजदरवारका पूर्व सम्वाद सचिव डा. फणिराज पाठकमार्फत आषाढ १० गते जारी गरिएको सन्देशमा राजा ज्ञानेन्द्रद्धारा विश्वमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट स्वदेश तथा विदेशमा पीडित नेपालीहरुप्रति सहानुभूति पनि दर्शाईएको छ ।

उहाँको सन्देशमा भनिएको छ,’अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबाट आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गूमाएका र पिडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाकासाथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दछु । संक्रमक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गाँस, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह पनि गर्दछु । साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिैक बेतिथिप्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।’
पूर्वराजा ज्ञानेन्द्रले ऋण काढेर रोजगारीका लागि विदेशिन बाध्य र कोरोना संक्रमणको कारण रोजगारी गुमाएर स्वदेश फर्कन विवश नेपालीको पीडालाई संकेत गर्दै भन्नुभएको छ ,’ विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका छन् । चुनौती पछि आएको यो समय सन्दर्भ एक असर पनि र अवसर पनि हो । फर्कने सबैको श्रम, शीप र सामथ्र्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनु पनि नितान्त जरुरी रहेको छ । बदलिंदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति, संस्कृति र पद्दतितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्वनको परिपाटी फेरि कायम हुन्छ । केहि दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नु परेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले नेपालको मौलिक संस्कृति र पहिचानको स्मरण गराउदै भन्नुभएको छ,’नेपाल बहुजातीय, बहुभाषिक र बहुविध भौगोलिक विशेषता रहेको मुलुक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पनपनाउंदै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।’


पूर्वराजाले राष्ट्रियतालाई मूल मन्त्र र एकतालाई शक्तिको रुपमा व्याख्या गर्दै विगतलाई संझेर आफ्नो राष्ट्र, इतिहास, धर्म, परम्परा, मौलिक संस्कृति जस्ता सम्पत्तिको जगेर्ना गर्दै अगाडि बढ्नुलाई कर्तव्यको रुपमा ब्याख्या गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘आजको यो काल खण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हुँदैन । नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो ? त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्दछ । राष्ट्रियता नै हाम्रो मूूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’
देश कोरोना संक्रमणको महामारीसंग जुधिरहेको र जनता कोरोना संक्रमण र पीडित भैरहेको अवस्थामा पूर्वराजाले आफ्नो जन्मोत्सव पनि हर्षोल्लासपूर्वक नमनाउने निर्णय गर्दै आफ्ना शुभचिन्तकहरुलाई आफ्नो भावनासंग एकाकार गरी बुनिएको सपना साकार पार्न धैयर्, दृढता र साहसका अगाडि बढ्न आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ,’ राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको छु । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शूभेक्षा राख्दै देशको सून्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुलाई धैर्य, दृढता र साहसकासाथ अघि बढ्न आह्वान गर्दछु ।’



















