काठमाडौं, १५ आषाढ । अहिले कायम रहेको खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्बिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले प्रदेश, जिल्ला र स्थानीय तहलाई कोरोना भाइरसको संक्रमणको स्थिति हेरेर कडाई र खुकुलो बनाउन सक्ने स्वतन्त्रता दिएको छ तर त्यस्तो निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्नेछ ।
केही सावधानी वा नियन्त्रणात्मक प्रावधानसहित नियमित हवाइ उडान सुरु हुने अपेक्षा गरिए पनि मन्त्रिपरिषद्ले यसमा कुनै उदारता नदेखाएको बताइएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै खाले हवाईसेवाको नियमित उडान साउन ७ गतेसम्म बन्द गरिएको छ ।
मन्त्रिपरिषद्ले हाल खुला रहेका २० सीमा नाकाहरु बाहेकका अन्य नाकाहरु पनि साउन ७ गतेसम्म बन्द रहने छन् ।
गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।
सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ ।
यसैगरी बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला हुँदै आएका छन् ।
तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ ।
यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।
सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन गरेको थियो ।


















