गाबोरोने (बोत्सवाना), १८ आषाढ(बीबीसी) ।बोत्स्वानामा दुई महिनामा सयौँ हात्ती मृत अवस्थामा फेला परेका छन्। त्यति ठूलो सङ्ख्यामा हात्तीहरू के कारणले मरे भन्ने थाहा हुन सकेको छैन।
संरक्षणकर्मी डा.नाईअल मक्कानका अनुसार उक्त दक्षिणी अफ्रिकी देशको ओकाभाङ्गो डेल्टा क्षेत्रमा उनका सहकर्मीहरूले गत मे महिनाको आरम्भदेखि ३ सय ५० वटाभन्दा बढी हात्तीका शव फेला पारेका हुन्।
सरकारले हात्तीको मृत्युको कारण पत्ता नलागेको बताएको छ।
शवबाट सङ्कलित नमुनाको परीक्षणका लागि पठाइएको छ र परिणाम आउन अझै केही साता लाग्नेछ।
अफ्रिकामा भएका हात्तीको कुल सङ्ख्याको एकतिहाइ बोत्स्वानामा पाइन्छ।

बोत्स्वानामा वन्यजन्तु संरक्षणमा कार्यरत व्यक्तिहरूले विमानबाट गरेको निरीक्षणपछि मे महिनामा हात्तीको मृत्युबारे सरकारलाई जानकारी दिएको यूकेस्थित न्याश्नल पार्क रेक्क्यू नामक परोपकारी संस्थासँग आबद्ध डा. मक्कानले बताउनुभयो।
“तीन घण्टाको उडानमा उनीहरूले १ सय ६९ वटा मृत हात्ती देखे,” उहाँले भन्नभुयो “तीन घण्टाको उडानमा त्यति सङ्ख्यामा देखिनु र गन्न सकिनु असामान्य कुरा हो।एक महिनापछि थप अनुसन्धानमा अरू शवहरू चिनियो जसबाट कुल सङ्ख्या ३ सय ५० भन्दा बढी भयो।”
उहाँका अनुसार अनावृष्टिसँग सम्बन्ध नभएको कुनै एउटै घटनामा यति ठूलो सङ्ख्यामा हात्तीको मृत्यु हुनु एकदमै अस्वाभाविक हो।
![]()
विज्ञान, प्रविधि र अनुसन्धानसम्बन्धी सामग्री सङ्ग्रह गर्ने एक वेबसाइटका अनुसार मृत हात्तीको शरीरबाट दाह्रा ननिकालिएको भन्दै मे महिनामा सरकारले हात्तीको मृत्युमा अवैध सिकारीको संलग्नता नभएको जनाएको थियो।
मक्कानका अनुसार हात्तीबाहेक अरू जीव मरेका छैनन्।सिकारीहरूले साइनाइड प्रयोग गरेको भए अरूको पनि मृत्यु भएको देखिनुपर्थ्यो।
गत वर्ष बोत्स्वानामा एन्थ्र्याक्सका कारण १०० वटा हात्ती मरेका थिए। तर डा. मक्कानले यो घटनामा ब्याक्टेरियाले गराउने एन्थ्र्याक्सका कारण हात्तीको मृत्यु भएको सम्भावना अस्वीकार गर्नुभयो।
तर विज्ञहरूले विष वा रोगका कारण हात्तीको मृत्यु भएको सम्भावना खण्डन गर्ने सकेका छैन्।
डा. मक्कानका अनुसार मृत्यु हुँदा धेरै हात्तीको मुख भुइँमा जोतिएको छ तथा अरू हात्तीहरू वृत्ताकार बनाउँदै घुमेका छन्। यसले उनीहरूको स्नायुप्रणालीमा आक्रमण भएको हुनुपर्ने उहाँको निष्कर्ष छ।

हात्तीमा देखिएको यो समस्याको सम्बन्ध पानीको स्रोत वा माटो केसँग रहेछ भने कारण पत्ता नलागेसम्म मानिस पनि प्रभावित हुनसक्ने जोखिम हुने उहाँ बताउनुहुन्छ।
उनले वन्यजन्तुमा पनि कोरोनाभाइरस फैलिएको अनुमानतर्फ औँल्याए।
“यो संरक्षणमा एउटा विपद् हो। तर यसबाट जनस्वास्थ्य सङ्कटको सम्भावना पनि छ,” उनले भने।
बोत्स्वानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका कार्यवाहक निर्देशक सिरल टाओलोले गार्डीअनलाई बताएअनुसार विभागले अहिलेसम्म २ सय ८० वटा हात्ती मरेको पुष्टि गरिसकेको र अरू गर्ने प्रक्रिया चलिरहेको छ।
मृत्युको कारण भने पत्ता लागिनसकेको टाओलोले बताउनुभयो।
उहाँले परीक्षणका लागि नमुना पठाइएको र परिणाम आउन समय लाग्ने बताउनुभयो।



















