काठमाडौं । नेपाल मध्यम आय भएको मुलुक बनेको छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय १ सय ३० डलरले बढेर १ हजार ९० डलर पुगेको छ । गत वर्षको जुलाइ १ तारिखको भन्दा १ सय ३० डलर बढी हो । सन् २०१९ मा नेपालीको प्रतिव्यक्ति आय ९ सय ६० अमेरिकी डलर थियो ।
योसँगै नेपाल निम्नआय भएको मुलुकबाट निम्नमध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको वर्गीकरणअनुसारमा एक हजार ३६ अमेरिकी डलरसम्मको आय भएको मुलुकलाई निम्न आय भएको मुलुकमा राखेको छ । १ हजार ३६ डलरदेखि ४ हजार ४५ डलर अमेरिकी डलरसम्म आय भएकालाई मुलुकलाई निम्नमध्यम आय वर्गमा राखेको छ ।
त्यस्तै चार हजार ४६ डलरदेखि १२ हजार ५ सय ३५ अमेरिकी डलर भएकालाई उच्च मध्यम आय भएको मुलुकमा र सोभन्दा माथिको आय भएका मुलुकलाई उच्च आय भएका मुलुकमा वर्गीकरण गरेको छ ।

विश्व बैंकका अनुसार नेपालसहित तान्जिनिया र बेनिन यो वर्गमा उक्लिएका छन् । अल्जेरिया, सुडान र श्रीलंकाको वर्ग भने खस्किएको छ । अल्जेरिया र श्रीलंका निम्नमध्यम आय भएको मुलुकमा झरेका छन् ।
इन्डोनेसिया भने उच्च मध्यम आय भएको मुलुक बनेको छ । यसैगरी मरिसस, नाउरु र रोमानिया उच्च आय भएको मुलुकमा उक्लिएका छन् । सुडान निम्न मध्यमबाट निम्न आय भएको मुलुक बनेको छ ।
विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ ।


















