काठमाडौं, १९ आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विकसित संकट व्यवस्थापनका लागि पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा भएको तीनघण्टा लामो छलफल बिना निष्कर्ष टुंगिएको छ ।
बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलमा दुवै नेताहरु आआफ्नै अडानमा रहेको बताइएको छ । तर दुवै नेताहरु भोलि स्थायी समितिको बैठक पहिले वार्तामा बस्न तयार भने हुनुभएको छ ।
आजको बैठकमा दुई अध्यक्षका अतिरिक्त महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो । दुवै जनाले पार्टी एकीकरणका समयमा भएको उच्चस्तरीय राजनीतिक समझदारीमा हस्ताक्षर गर्नुभएका थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समितिको बैठकमा सरकार सञ्चालन र पार्टी सञ्चालनमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ध्यान दिन नसकेको भन्दै पार्टीको छविमा आँच आउन लागेकोले दुवैपदबाट उहाँलाई विस्थापन गर्ने मत बढिरहेको छ । स्थायी समितिको बैठकमा विरोधको स्वरहरु ध्वनित हुन थालेपछि आक्रोशित बन्नुभएको प्रधानमन्त्री ओलीले आषाढ १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारतको इशारामा आफ्नो राजिनामा माग्न थालिएको आरोप लगाएपछि स्थायी समितिको बैठक मूल एजेण्डाबाट बहकिएर प्रधानमन्त्रीको राजिनामा अल्झन पुगेको छ ।
यही विवादको बीचमा प्रधानमन्त्री ओलीले पार्टीसंगका कुनै परामर्श नै नगरी संसदको चालु बजेट अधिवेशन हठात बन्द गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि प्रधानमन्त्री र पार्टीको बीचमा थप समस्या उत्पन्न भएको छ । सरकारका स्थान पाएका केही सहित ठाँउ नपाएका पार्टीका अधिकांश नेता र कार्यकर्ताहरु प्रधानमन्त्रीका विरुद्धमा खनिन पुगेका छन् ।
पार्टीभित्र विकसित ध्रुवीकरणलाई सामान्य अवस्थामा ल्याउन दुई अध्यक्षबीच संवाद गराउने उद्देश्यले बिहिबार बसिरहेको स्थायी समितिको बैठक स्थगित गरी शनिवार बिहान ११ बजेको लागि निर्धारित गरिएको छ ।
शुक्रबार दुई अध्यक्षवीच भएको बैठकमा दुवै अध्यक्ष आआफ्नै अडानमा अडिग रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले आफूलाई सरकार स्वतन्त्र ढंगले चलाउन दिनुपर्ने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई भएकोले उहाँले मर्यादित र विना भेदभाव पार्टी सञ्चालन गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो ।
तर, अर्का अध्यक्ष प्रचण्डले परिस्थिति धेरै अगाडि बढसकेको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको ख्याल गर्दै सुरक्षित अवतरण गरी आफ्नो र पार्टीको छवि जोगाउदै अब बिश्राम लिन उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले मंसिर ४ को परिस्थितिबाट पार्टी धेरै अगाडि बढिसकेकाले प्रधानमन्त्रीले त्याग गर्नु उपयुक्त हुने बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले भोलि स्थायी समितिको बैठक पहिले एकपटक वार्ता गर्न समय माग्नुभएको छ ।
प्रधानमन्त्री निकट स्रोतहरुको अनुसार दुई दुईजना युवतिहरुको मृगौलाको साहरामा बोनसको जीवन बाँचिरहनुभएका प्रधानमन्त्री आफूमाथि पार्टीको नाममा अनावश्यक लगाम लगाउन पनि तयार हुनुहुन्न, न त अहिल्यै राजनीतिक सन्यास लिन तयार हुनुहुन्छ । बरु आफ्नो एकल नेतृत्वमा आदर्शको पार्टी र सरकार सञ्चालन गरेर नमूना प्रस्तुत गर्न चाहनुहुन्छ । त्यसैले उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्नु हुन्न ।
भोलिको वार्ता पनि केवल सद्भावका लागिमात्र हुँदैछ, कुनै सहमति वा लेनदेनका लागि हैन् ।


















