धनगढी(कैलाली), १० माघ । केही बर्षदेखि खेलकूदको हबको रुपमा पहिचान बनाउन सफल धनगढीले नेपाली फुटबलको इतिहासमै अर्को पाना थप्ने भएको छ । धनगढीले पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ ।
भर्खर नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप सफलताका साथ आयोजना गरी सम्पन्न गरेको सुदुरपश्चिम ११ स्पोर्टस क्लबले मंगलबार महिला गोल्डकपको आयोजनाबारे जानकारी गराएको हो ।
सुदुरपश्चिम खप्तड महिला गोल्डकपमा नेपालका ६ र दुई विदेशी गरी ८ टोलीको सहभागिता रहने क्लबका वरिष्ठ उपाध्यक्ष वावुराजा श्रेष्ठले जानकारी दिए ।
सुदुरपश्चिम ११ स्पोर्टस क्लबले दोस्रो संस्करणको नेपाल आईस सुदरपश्चिम खप्तड गोल्डकपको आय व्यय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा महिला गोल्डकपको घोषणा गरेको हो ।
महिला गोल्डकपको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउने छन् ।