काठमाडौं, २३ आषाढ । सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक पदमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय लिएको हो।
उहाँ आजसम्म प्रहरी अतिरिक्त महानिरीक्षकमा कार्यरत हुनुुहुन्छ ।
नेपाल प्रहरीको यस सर्वोच्च पदका अर्का दावेदार प्रहरी अतिरिक्त महानिरीक्षक हरि पाल हुनुहुन्थ्यो । तर सरकारले वरियताका आधारमा उहाँलाई नियुक्त गरेको हो ।
नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक मध्ये तारिणी लम्सालको पनि सेवा अवधिका कारण असार २४ मा अनिवार्य अवकाश पाउने भएकोले प्रतिस्पर्धामा शैलेश र हरि पाल मात्र रहनुभएको थियो ।
वर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अनिवार्य अवकाश पाउने भएकोले सरकारले प्रहरी महानिरीक्षकको नियुक्ति गरेको हो ।
नवनियुक्त प्रहरी महा निरीक्षक थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि देशमा शान्तिसुरक्षाको प्रमुख जिम्मेवारी लिने नेपाल प्रहरीको नेतृत्व गर्नुहुनेछ ।
प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापासंग यसअघिका ५ जना प्रहरी महानिरीक्षकहरुसंग सचिवालयमा रहेर काम गरेको अनुभव छ।
डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहनुभएका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत हुनुहुन्छ।
२८ वर्ष २ महिना लामो प्रहरी सेवाका क्रममा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, कास्की र झापामा रहेर काम गर्नुभएको छ।
धेरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताउनुभएका थापा नीति निर्माण, अनुसन्धान र कार्यान्वयमा सफल मानिनुहुन्छ।
संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत थापाले बोस्निया, पूर्वी टिमोर र सुडानमा सेवा गर्नुभएको थियो।
वि.स २०२५ मंसिर २३ मा भक्तपुरको कटुन्जेमा जन्मिनुभएका नवनियुक्त प्रहरी निरीक्षका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो।


















