काठमाडौं, २३ आषाढ । संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ।
नेपालको संविधानको अनुसूची ३ मा रहेको निशाना छापमा नेपालको नयाँ राख्ने उद्देश्यले ल्याएको नेपालको संविधान दोस्रो संशोधन विधेयकको विपक्षमा अभिव्यक्ति दिएको, पार्टीको निर्देशन विपरित संशोधन प्रस्ताव हालेको र पार्टी ह्वीपको उल्लंघन गरी विधेयकको मतदान प्रक्रिया बहिष्कार गरेको आरोपमा समाजवादी पार्टीले उहाँमाथि कारबाही गरेको हो ।
सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले पार्टीको निर्णय संसद सचिवालयलाई दिने जानकारी दिनुभएको छ ।
समाजवादी पार्टीको पदाधिकारी बैठकले उहाँलाई संसद र पार्टीको साधारण सदस्य दुवै नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि जेठ ३१ गते भएको संविधान संशोधनमा गिरीले मतदान बहिष्कार गर्नुभएको थियो।
समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।
उहाँले पार्टीसंग परामर्श नगरी संशोधन प्रस्ताव पनि हाल्नुभएको थियो । सो प्रस्ताव फिर्ता लिन पार्टीले दिएको निर्देशनको पनि उहाँले अवज्ञा गर्नुभएको थियो । उहाँको प्रस्तावलाई सभामुख अग्निप्र्रसाद सापकोटाले आफूमा रहेको विशेषाधिकार प्रयोग गरी खारेज गर्नुभएको थियो ।
आफ्नो प्रस्ताव रद्द भएपछि चलिरहेको बैठक कक्षबाट बाहिरिनुभएकी सांसद गिरीले सो नक्सा जारी गर्ने सरकारी निर्णयको सार्वजनिक रुपमै विरोध गर्नुभएको थियो ।
सरकारले सुगौली सन्धीले नेपालको स्वामित्व रहने भनी स्पष्ट उल्लेख गरेको तर विभिन्न कारणले नेपालले आफ्नो नक्सामा समेट्न नसकेको लिम्पियाधुरा,कालापानी र लिपुलेकसहित ती क्षेत्रमा रहेको गुञ्जी,नाभी र कुटी क्षेत्रका मानव वस्ती समेटिएको नयाँ नक्सा जेठमा जारी गरेको थियो ।
नेपालको संविधानको अनुसूचीमा नेपालको नक्सासहितको निशाना छाप समेटिएको हुनाले सो नक्सालाई अद्यावधिक गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरी त्यसमा छलफल र मतदान गरिएको थियो । सो विधेयक सर्वसम्मतिले दुवै सदनबाट पारित भएको थियो ।


















