काठमाडौं, २३ आषाढ । नेपाली कांग्रेस वी.पी.का महामन्त्री सुशीलमान शेरचनले प्रधानमन्त्री ओलीको कथनी,करणी र राज्य सञ्चालन शैली मुलुकका लागि खतरनाक भएको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीका महासचिव शेरचनले प्रश्न गर्नुभयो : २०६४ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री रहेका बेलामा नेपालको सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउन प्रस्ताव लैजाने व्यक्ति,महाकाली नदीको मुहानको टुंगो नलागिकन पार्टी नै विभाजन गर्ने गरी संसदबाट सन्धी पारित गरेर भारत रिझाउन अग्रसर हुनुहुने व्यक्ति मधेश आन्दोलनको विरोधमा उभिनेवित्तिकै कसरी राष्ट्रवादी बन्नुभयो ?
तात्कालिन परराष्ट्रमन्त्री ओलीले नेपालको परराष्ट्र र सुरक्षाको विषय भारतलाई सुम्पनु पर्ने प्रस्ताव ओलीले मन्त्रिपरिषद्मा पुर्याउनुभएको कुरा तात्कालिन उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री अमिक शेरचनले खुलासा गर्नुभएको पनि नेपाली कांग्रेस वी.पी.का महामन्त्री सुशीलमान शेरचनले उल्लेख गर्नुभएको छ । उहाँले प्रश्न गर्नुभएको छ, परराष्ट्रमन्त्री हुँदा त्यसो भन्ने व्यक्ति प्रधानमन्त्री भए पछि कसरी राष्ट्रवादी हुुनुभयो ?
नेपाली काँग्रेसले वी.पी.को विचार छोडेर गणतन्त्र संघीयता र धर्म निरपेक्षतामा गएपछि पार्टीका संस्थापक तथा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पार्टी छोड्न बाध्य भएको र कांग्रेसको पुरानो धार नै नेपाल र नेपालीको लागि उपयुक्त भन्दै वी.पी.विचारलाई संगठित गर्ने उद्देश्यले नेपाली कांग्रेस वी.पी.को स्थापना गरिएको महामन्त्री सुशीलमान शेरचनले दावी गर्नुभएको छ ।
पार्टीले सुगौली सन्धीले निर्धारण गरेको महाकाली नदीको पूर्वी पानीढलोका लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको भूभाग समेटिएको नेपालको नक्सा सार्वजनिक गरिनु र सो नक्सा संविधानको अनुसूचीमा समेटिने कार्यको स्वागत गरेको छ ।
पार्टीले नेपाली जनतालाई कोरोना भाइरस संक्रमणको त्रासदीबाट बचाउन सरकारी प्रयास फितलो भएकोमा आलोचना गर्दै विश्वले अस्वीकार गरेको आरडीटी परीक्षण बन्द गर्न, पीसीआरलाई व्यापक बनाउन, क्वारेन्टाइन केन्द्रहरुमा पर्याप्त सावधानी अपनाउन, विदेशबाट उद्धार गरि नेपाल ल्याइएका तथा छिमेकी मुलुकबाट नेपाल प्रवेश गरेका आगन्तुक नेपालीहरुको समुचित निगरानी गर्न, संयुक्त राज्य अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशनसंग गरिएको सम्झौतामा रहेका राष्ट्रहित विपरीतका प्रावधानहरु संशोधन गर्न पनि माग गरेको छ । भ्रस्टाचार र अनियमित बन्द गर्न क्वारेन्टाइनलाई व्यस्थित गर्न पनि माग गरेको छ ।
सो पार्टीका सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेलद्वारा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा कोरोना भाइरसका कारण ठप्प प्राय भएको मुलुकको आर्थिक अवस्था माथि उकास्ने योजना वर्तमान सरकारसँग नभएको दाबी गरिएको छ ।
हाम्रो भु-राजनीति र यहाँको विविधता,राष्ट्रिय सुरक्षा,स्वार्थ र राजनीति बुझ्दै नबुझी दलीय सत्ता स्वार्थ प्रेरित कुटनीतिले मुलुक बाह्र शक्तिको क्रिडास्थल बनेको भन्दै प्रवक्ता पौडेलले दुई छिमेकीको चासोलाई सन्तुलित गर्दै नेपालको स्वार्थ अनुरूप पराराष्ट्रसम्बन्ध बढाउनु पर्नेमा एकलौटी एमसीसीको रटानले मुलुक अर्को भुमरीमा फस्न लागेको उल्लेख गर्नुभएको छ ।
प्रजातन्त्रमा प्रतिपक्षको ठूलो भूमिका हुने स्मरण गराउदै सो विज्ञप्तिमा नेतृत्वको अकर्मण्यताका कारण आफ्नो मौलिक आदर्श सिद्धान्त ,विचार, नीति र संस्कार त्यागेर गुट उपगुटले मृत प्रायः अवस्थामा पुगेको नेपाली कांग्रेसबाट मुलुक सम्हालिन कठिन हुने कुरा पनि उहाँले बताउनुभएको छ ।
उहाँले सत्तारुढ कम्युनिष्ट पार्टी र उदारवादी प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै जनता र देशको हित तथा आवश्यकता अनुरुप काम गर्न नसकेर असान्दर्भिक हुँदै गएकोले जनताले वैकल्पिक प्रजातान्त्रिक शक्तिको खोजी गरेकोले नै आफूहरुले नयाँ पार्टी गठन गरेको दावी पनि गर्नुभयो ।
नेपाली कांग्रेस वी.पी.ले बाह्य शक्तिको योजनामा जनभावना प्रतिकुल थोपरिएको संबैधानिक ब्यवस्थाको बिस्थापन,युग द्रष्टा बिपि कोइरालाको विचार र नीति नै राज्य सञ्चालनको लागि सञ्जिवनी बुटी भएको भन्दै आफ्नो झण्डामुनि गोलवन्द हुन अपील पनि गरेको छ ।।
वी.पी.को नाममा खुलेको पार्टीले देशमा भएका भ्रष्टाचार, अनियमितता, जनहित विरोधी क्रियाकलापकाविरुद्ध पटकपटक सरकारलाई सचेत गराउदा पनि सरकार र प्रतिपक्ष दल हातेमालो गरेर अगाडि बढेको भन्दै जनतालाई सचेत गर्न असार १७ गते वानेश्वर चोकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सयुक्त पुत्ला दहन गर्दै गरिएको बताएको छ । सो पार्टीले पहिलो चरणको आन्दोलन समाप्त भएको जनाउदै चाडै नै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने पनि बताएको छ ।
पार्टीले अहिले आफ्नो संगठन २५ जिल्लामा रहेको र कोरोना जोखिम कम भए पछि थप १८ जिल्ला विस्तार हुने पनि जानकारी दिएको छ । पार्टीले आफ्नो भातृ संघ तथा सुभेच्छुक संस्थाहरु पनि निर्माण भै सकेको जनाएको छ ।


















